वीरगञ्ज,पर्सामा जापनिज इन्सेफ्लाइटिस रोगबाट एक जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपाालिका–१ छपकैयाका ३० वर्षीय युवक रहेका छन्।

पर्सामा यस वर्ष हालसम्म २ जनामा यो रोगका बिरामी भेटिएकोमा तीमध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको र १ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।
गत भदौ ५ गते संक्रमण पुष्टि भएकी पर्साकै पटेर्वासुगौली गाँउपालिका–३ की तीन वर्षिया बालिकाको भने हाल वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको ठाकुरले बताउनुभयो । उहाँका अनुसार पर्सा जिल्लामा गत वर्ष पनि जापनिज इन्सेफ्लाइटिसका २ जना बिरामी भेटिएका थिए।

देशभरि यस वर्ष हालसम्म पनि जापनिज इन्सेफ्लाइटिसका ३३ जना बिरामी भेटिएका छन्। तीमध्ये सबैभन्दा बढी कैलाली जिल्लामा ६ जना छन्। जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार जापनिज इन्सेफ्लाइटिस रोग मुख्य गरेर धान खेती बढी हुने ठाउँ तथा सुंगुर, बंगुर र हाँस पालन गर्ने समुदायमा बढी देखिन्छ।यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने र यो रोग लाग्नबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा प्रभावकारी उपाय रहेको ठाकुरले बताउनुभयो । त्यसका लागि सुंगुर, बंगुर र हाँस घरभन्दा टाढाको स्थानमा खोर बनाएर पाल्ने, सुत्दा झुल टाँगेर सुत्ने, साँझ र बिहान सकेसम्म खेतबारीमा नजानेजस्ता उपाय अपनाउनु पर्ने ठाकुरले बताउनुभयो ।
जापनिज इन्सेफ्लाइटिस रोगको जोखिममा पर्सा जिल्ला पनि रहेकाले त्यसैलाई मध्यनजर गरेर स्वास्थ्य कार्यालय पर्साले जिल्लाका १४ वटै पालिकामा पालिकासँग समन्वय गरी सर्च एण्ड डिस्ट्रोय अभियान चलाइरहेको पनि जनस्वास्थ्य अधिकृत ठाकुरले बताउनुभएको छ ।

Leave a Reply