वीरगन्ज,प्रधानन्यायाधीशको अबिलम्ब नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसन उच्चअदालात जनकपुर, अस्थायी इजलास वीरगन्ज एकाइले मङ्गलबारबाट वीरगन्जमा धर्ना कार्यक्रम सुरु गरेको छ ।बारले प्रधानन्यायाधीशको नियुक्ति समयमा हुन नसक्दा समग्र न्यायपालिका नेतृत्वविहीन हुन पुगेको र न्यायपालिकाप्रतिको जनआस्था खस्किँदो अवस्थामा रहेको यथार्थतालाई ध्यान दिँदै प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्न ध्यानाकर्षण गराउँदा बेवास्ता गरिएपछि बारले देशभर चलाएको दबाब अभियानको क्रममा वीरगन्जमा पनि प्रदर्शन गरेको हो ।दबाब अभियानकै क्रममा मङ्गलबारदेखि धर्ना अभियान सुरु गरिएको बार एसोसिएसन उच्चअदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका सदस्य शैलेन्द्र चौरसियाले जानकारी दिनुभयो ।सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा देशैभरिका अदालतहरूमा रिक्त न्यायाधीशहरूको पदपूर्ति पनि रोकिएको र समग्र न्यायिक प्रणालीमै असहज अवस्था उत्पन्न हुँदै गएको उहाँले बताउनुभयो । बारको केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम धर्ना अभियान सुरु गरेको चौरसियाको भनाइ छ ।‘स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ’, ‘न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गर’, ‘पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर’, ‘प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर’, ‘सबै तहका अदालतमा रिक्त न्यायाधीश यथाशीघ्र नियुक्ति गर’ लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेर कानून व्यवसायीहरू धर्नामा सहभागी भएका छन् ।आइतबारदेखि सुरु भएको धर्ना अभियान एक हप्तासम्म सञ्चालन हुने र सबै कानुन व्यवसायीहरूको उपस्थितिमा धर्ना बस्न सुरु भएको चौरसियाले बताउनुभयो । उहाँले सोही अभियानलाई वर्तमान केन्द्रीय कार्यसमितिले पनि स्वामित्व ग्रहण गरेर देशभरका उच्च र जिल्ला बार एकाइहरूमा धर्ना अभियान सुरु भएको बताउनुभयो । अभियानलाई सेवाग्राहीको काममा भने असर नपर्ने गरी सञ्चालन गरिने जनाइएको छ ।नेपाल बार एसोसिएसनले न्यायपालिकामा देखिएका विकृति, विसंगतिको अन्त्य गरी न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने उद्देश्यले यसअघि १७९ दिने न्यायपालिका शुद्धीकरण र सुदृढीकरण अभियान चलाएको थियो । विरोध कार्यक्रममा बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुधिर कर्ण, प्रज्वल अधिकारीलगायतको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply