पर्सा — गहुँ बालीका लागि गण्डक नहरमा यसबर्ष १३ नम्बर ब्लकसम्म पानी पुगेको छ । नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुरेश साहका अनुसार हाल नहरको ब्लक नं १३ सम्म पानी पुगेर त्यस भेग सम्मका किसानले गहुँ बालीमा सिंचाई गरिरहेका छन् ।‘१३ नम्बर ब्लक अर्थात् रौतहटको बंकुल क्षेत्र सम्मका किसानले गहुँ बालीमा सिंचाई गरिरहेका छन्,’ उनले भने, ‘तराई भेगमा किसानले गहुँ बालीमा एक पटक सिंचाई गर्दा पुग्छ, किसानले धमाधम सिंचाई गरिरहेका छन् र यो गहुँ बालीमा सिंचाई गर्ने मुख्य सिजन पनि हो ।’ साहले भारतले यस बर्ष समयमै र पर्याप्त पानी समेत दिएकाले गहुँ बाली सिंचाईमा समस्या नभएको बताए ।बुधबारसम्म नहरमा भारतले ७ सय ५० क्युसेक पानी दिएको र शुक्रबार ५ सय ५० क्युसेक पानी दिएको उनले बताए । धान बाली जस्तो गहुँ बालीका लागि धेरै पानी नचाहिने भएकाले हाल उपलब्ध ५ सय ५० क्युसेक पानीबाट पनि नहरमा आश्रित किसानले पर्याप्त सिंचाई गर्न पाएको उनले बताए ।भारतसँगको गण्डक सम्झौता अनुसार भारतीय पक्षले बर्षेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी छोड्ने गर्छ । गण्डक नहरबाट पर्सा,बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित गर्ने लक्ष्य भएपनि नहरको नियमित मर्मत सम्भार अभाव तथा भारतले सम्झौता अनुरुपको पानी नदिने गर्दा रौतहटमा रहेको नहरको अन्तिम दुई अर्थात १४ र १५ नम्बर ब्लक सम्म पानी पुग्न सक्दैन ।नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा,बारा र रौतहटमा गरी १५ ब्लकमा बिभाजित गण्डक नहरको लम्बाई नेपाल तर्फ ८१ किमी रहेको छ ।सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको थियो । नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ ।कान्तिपुरबाट साभार

Leave a Reply