निजगढ,भारतको समस्तीपुरमा बाराको बारागढी नगरपालिकाका तीर्थालु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।बारागढी गाउँपालिका– ३ मुर्कीपालिया गाउँका ६२ वर्षीय किशोरीराम महरा चमारको उपचारको क्रममा पटनामा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मुर्कीपालिया गाउँका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अमित कार्कीका अनुसार घाइते किशोरीको समस्तीपुरबाट ‘रेफर’ गरी पटनास्थित एम्स अस्पतालमा उपचार भइरहेकोे थियो ।

किशोरीसँगै उनकी पत्नी रामपति र नातिनी सुजिता समेत घाइते भएकी थिइन् । दुवै जना घाइते उपचारपछि निको भएका छन् । उनीहरू किशोरीको शव लिएर नेपाल फर्किने क्रममा रहेको स्थानीय महेन्द्र साह कानुले जानकारी दिनुभयो ।बारागढी गाउँपालिकाका तीर्थालु बोकेको बस आइतवार बिहारको समस्तीपुरको मुसरीघरारी चोकमा ट्रकले ठक्कर दिँदा पल्टिएको थियो । दुर्घटनामा बसका चालक–सहचालकसहित सवार ४७ जना घाइते भएका थिए । घाइते मध्ये थप दुई जनाको अझै पनि उपचार भइरहेको छ ।

Leave a Reply