देश कुनैपनि नागरिकका लागि प्रिय शब्द हो । हाम्रै पुर्खाले नै बलिदान गरेर यो देश बचाएका कारण आज हामी मधेशी, पहाडी वा हिमाली भनेर नेपाल देशमा गर्वका साथ बस्न पाएका छौं । नेपाल देश नेपालीका लागि महत्वपूर्ण भए जस्तै हरेक नागरिकका लागि आफ्नो देश प्यारो हुन्छ । नेपालमा भने बसोबसाइ फरक छ । मधेश नेपालमा छ । वषांैं पहिलादेखि थियो तर मधेश आन्दोलनपछि त यो शब्द बढी उच्चारण गरिएको छ ।

कतिपयले त मधेश नै नेपाल नभएको तर्क समेत गरे तर त्यसो होइन । मधेशमा नै जन्मिएका मधेशकै एक पुत्र प्रदेश २ का प्रमुख डा. राजेश अहिराजले मधेशको सवालमा कलैयामा आएर केही कुरा गरे । वास्तवमा उनको भनाइमा दम छ । शीरमा देश र मनमा मधेश राख्ने हो । मधेशबिनाको देश र देश बिनाको मधेश संभव छैन ।

यो कुरा हरेक नेपालीहरुले मनन् गर्न आवश्यक छ । नेपालमा रहेका नेपालीहरुमा यो भावना पनि छैन भन्न खोजिएको होइन । यद्यपि केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि पनि मधेशको नारा लगाउने गर्दछन् । वास्तवमा मधेश फरक होइन । नेपालकै एउटा पाटो हो । यो कुरामा सबै स्पष्ट हुन आवश्यक छ । राजेश अहिराजले भने जसरी नै सबैले देशमा शीर र मनमा मधेश राखियो भने मधेशको नाउमा भजन गाउनेहरुको दिन सकिने छ र देशमा साम्प्रदायिकता भड्काउने केहीको योजना समेत हावा खाने छ ।

Leave a Reply