हुन त शितलहरलाई प्रकृतिको कुरा भनिएला, धेरैले यस्तै भनेको पनि सुन्निछ । वास्तवमा प्रकृतिको नियमको उल्लंघन गर्न सकिने कुरा त भएन तर पनि यसबाट मधेसका जनता अत्यन्तै प्रभावित बन्दैआएका छन । उनीहरुलाई यसबाट बचाउनका लागि भने पहल हुन आवश्यक छ ।

मधेस यसै पनि जाडोमा निकै जाडो र गर्मीका निकै गर्मी हुने स्थान हो । नेपालको भूगोल सबै एकनासको छैन । मधेस यसैमा पनि फरक छ । मधेसको पहिचान जस्तै बनेको शीतलहरका कारण यहाँका नागरिकहरु पुस लागेपछि नै प्रताडित छन् । चिसोले लगभग सबै उमेर समूहलाई समस्या पार्ने गर्दछ नै साथमा बालबालिका र ज्येष्ठ नागरिकहरु बढी प्रभावित भइरहेको देखिएको छ । केही स्थानीय तहले र केही मनकारीहरुले चिसोबाट बचाउनका लागि पहल गरेको पनि देखिन्छ । तर पनि यो कार्य पर्याप्त छैन ।

मधेसका विद्यालयहरु लगभग बन्द जस्तै छन् । पुस र माघ यसै पनि जाडो हुने महिना हुन् । संधै विद्यालय बन्द गर्दा पनि विद्यार्थीको पढाइमा समस्या हुनसक्छ । कुनै वैकल्पिक उपाय निकालेर चिसोबाट जोगिने गरी विद्यालय संचालन गर्दा उचित होला । हुन त ठूला कक्षामा पढाइ कही कतै भएको पनि देखिन्छ । यसलाई अझै व्यवस्थित ढंगले संचालन गर्दा पनि ठीक हुन्छ । विद्यालय बिदा मात्रै चिसोबाट जोगिने उपाय पनि होइन । लामो समय विद्यालय बन्द गरिनु पनि ठीक होइन ।

स्थानीय र प्रदेश सरकारहरुले बेलैमा चिसोबाट जोगाउने नीति बनाउनु पर्दछ । सबैलाई चिसोले समस्या नगर्ला तर आफ्नो वडामा विपन्न नागरिकहरु कति छन्, उनीहरुको अवस्था केछ भनेर लेखाजोखा त स्थानीय सरकारले नै गर्ने हो । त्यसैले आफ्नो दायित्व र कर्तव्य ठानेर सरकारहरुले नीति बनाएको खण्डमा चिसोबाट सबैलाई जोगाउन पक्कै सकिनेछ ।

Leave a Reply