खासगरी जुन देशमा युवा जनशक्तिको संख्या बढी हुन्छ, त्यस देशको अर्थतन्त्रले फड्को मार्छ भनिन्छ । विश्वका विभिन्न देशमा गरिएको एक अध्ययनले यसलाई पुष्टि गरेको छ । यो अध्ययन नेपालका लागि पनि लागू हुने हो भने नेपालले लिएको समृद्धिको लक्ष्य प्राप्ति गर्न कठिन छैन । युवाले देशको विकास र अर्थतन्त्रलाई दौडाउन सक्छन् । समृद्धिका लागि सम्भावनाका क्षेत्रको पहिचान गरेर त्यसको बुद्धिमत्तापूर्ण उपयोग गर्न सके विकासको ग्राफ बढ्न समय लाग्दैन । विकासका लागि जनसंख्या साधन र साध्य दुवै हो । अनि त्यसभित्रको युवा पुस्ता विकासलाई दौडाउने चालक हुन् ।

नेपालको जनसंख्याको ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । यो जनशक्ति देश विकासका लागि पर्याप्त हो।मानव जीवनमा सबैभन्दा सिर्जनशील, गतिशील, सिक्न चाहने र गर्न सक्ने समय युवा अवस्थामा नै हुन्छ । मुलुक अहिले जनसांख्यिक लाभको अवस्थामा रहेको हुँदा युवा जनशक्तिलाई क्षमतावान् बनाउँदै राष्ट्र निर्माणको अभियानमा परिचालन गर्नुपर्ने आवश्यकता छ । तर, हाम्रो विडम्बना के छ भने, जिम्मेवारी दिने बेलामा पार्टी, सरकार वा अन्य क्षेत्रमा युवालाई महत्व दिइँदैन । उनीहरूको योग्यता, क्षमता र अनुभवलाई अवमूल्यन गरिन्छ । जसका कारण स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै सयौं युवा घरखेत बन्धकी राखेर वैदेशिक रोजगारीमा गइरहेका छन ्। अध्ययनका लागि गएका उतै पलायन हुन्छन । देशमा रहेकाहरू पनि धेरै बेरोजगार छन् । जतिले आफैं अवसर सिर्जना गरेका छन् त्यो नगन्य छ ।

राजनीतिमा लागेका युवाको भूमिका पनि हस्तक्षेपकारी छैन । विश्वका धेरै देशमा युवाको नेतृत्व विकास गरी राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गरिएको हुन्छ । तर, नेपालमा युवाको नेतृत्व सहज रूपमा स्वीकार्न सकेको देखिँदैन । विगतमा शिक्षा, स्वास्थ्य, राजनीतिक, आर्थिक, सामाजिक अधिकार सुनिश्चित नहुँदा युवाको धेरै क्षेत्रमा पहुँच थिएन । सो समय उनीहरूका समस्या समाधानमा उचित पहल पनि भएन । अहिले देशमा राजनीतिक परिवर्तन भए पनि युवाको समस्या जस्ताको त्यस्तै छ । देशमा विकास र समृद्धि हासिल गर्ने काममा युवालाई परिचालन गर्न अहिले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले काम गरिरहेका छन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here