सिमरा,मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले जीतपुरसिमराका विभिन्न वडामा बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्नुभएको छ ।
प्रदेशसभा सदस्य चौधरी र उपप्रमुख अधिकारी ३ दिनअघि वर्षासंगै आएको बाढीबाट पीडित बनेका सर्वसाधारणको घरमा पुग्नुभएको हो ।
प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै सांसद चौधरी र उपप्रमुख अधिकारीले स्थानीयसंग समस्याको विषयमा जानकारी लिएका थिए । प्रदेशसभा सदस्य चौधरीले बाढी प्रभावित क्षेत्रमा प्रदेशबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको बताउनुभएको छ । चौधरीले शिक्षा, स्वास्थ्य, कृषी, सडकलगायतका क्षेत्रमा भएको क्षतिलाई पुर्ननिर्माण गर्नुपर्ने देखिएमा आफूले सहयोग गर्ने समेत जनाउनुभएको छ ।त्यसैगरी उपप्रमुख अधिकारीले बाढी तथा डुबानबाट प्रभावित घरपरिवारलाई तत्काल राहत उलपब्ध गराउन, बाढीका कारण सडक, विद्युत, कृषि क्षेत्रमा देखिएको समस्यालाई तत्काल समाधान हुने गरी कामअघि बढाइने बताउनुभएको छ । बाढी प्रभावित बस्तीका स्थानीयले भोग्नुपरेको पीडा र समस्या बुझ्नका लागि आफू काठमाडौंको यात्रा छोट्याएर प्रभावित क्षेत्रमा आएको उपप्रमुख अधिकारीले बताउनुभएको थियो ।
काठमाडौंबाट फर्किएलगत्तै उपप्रमुख अधिकारी बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको हो । यसअघि गत शुक्रबार बिहान बाढी आउँदा उपप्रमुख अधिकारी काठमाडौंमा हुनुहुन्थ्यो । उपप्रमुख अधिकारीले काठमाडौंबाट फर्किएलगत्तै प्रदेशसभा सदस्य चौधरीसंगै स्थलगत निरीक्षण गर्नुभएको हो ।


















