वीरगन्ज,आइतबार बिहानैदेखि परेको मुसलधारे वर्षाका कारण बारा र पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । डुवानमा परेर बारामा २ घरसमेत भत्केका छन ।

वर्षाको पानीको उचित निकास नहुँदा बाराको पचरौता, सिम्रौनगढ, निजगढ, कलैया र जीतपुरसिमर नगरपालिका र पर्साको वीरगन्ज महानगरका विभिन्न वडाहरु जलमग्न भइ डुबानमा परेका छन् । वीरगन्जको नगवा, रामगढवा, मुर्ली लगायतका टोलमा घरहरु समेत डुबानमा परेका छन् । यस्तै निरन्तर वर्षाका कारण पर्सा जिल्लाका अधिकांश नदी तथा खोलामा बाढी आएको छ । सिर्सया, तिलावे, ओरिया र सिकटा नदीमा बाढी आएको स्थानीयवासीले जानकारी दिएका छन् ।

पर्साको ग्रामिण भेगमा रहेको ओरिया खोलामा निर्माण गरिएको तटबन्ध भत्किदाँ सिमावर्ती गाउँ दसैता र खमिया इनर्वा डुवानमा परेको छ । तीन दिन यता फेरि मनसुन सकृय भएपछि निरन्तर वर्षा भइरहेको छ । सोमबार पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । दुई दिनयता देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ । मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद् मानन्धरले बताउनुभयो ।

तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् । लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

यसैबीच आइतबार बिहानदेखि परेको अविरल बर्षाका कारण बारामा दुईवटा घर भत्केको छ । बर्षाका कारण पचरौता नगरपालिका वडा नम्बर– ५ बेलदारीका भागृत महतो नुनिया र करैयामाई गाउँपालिका वडा नम्बर– ८ का रामबहादुर राउतको घर भत्केको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । नुनियाको घर भत्केर ७० हजार र राउतको घर भत्केर ५० हजारको क्षती भएको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply