वीरगन्ज, नेपाली कांग्रेस पर्साको जिल्ला सभापतीमा जनार्दन सिंह क्षेत्रीसहित उहाँको पुरै प्यानल नै विजयी भएको छ ।
कांग्रेसको १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहीबार भएको मतदानको शुक्रबार विहान आएको अन्तिम मतगणनाको नतिजा अनुसार संस्थापन पक्षका उम्मेदवार क्षेत्री ४ सय ६५ मतको अन्तरले विजयी हुनुभएको हो । क्षेत्रीले एक हजार एक सय १० मत प्राप्त गर्नु भएको छ भने संस्थापनइतर पक्षका सभापतीका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गर्नु भएको छ ।
सभापतीमा निर्वाचित क्षेत्री तत्कालिन जिल्ला विकास समिति पर्साका पूर्वसभापती हुनुहुन्छ । उपसभापतिमा क्षेत्री प्यानलकै रामनारायण प्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी हुनु भएको छ ।
कुर्मीले एक हजार २ सय ३५ मत र गुप्ताले एक हजार एक सय २ मत प्राप्त प्राप्त गर्दा उप सभापतिका पटेल प्यानका उम्मेदवार डा. कृपा सिन्धु चौधरीले ५ सय ८५ मत र राजुकुमार गुप्ताले ४ सय ८२ मत ल्याउनु भएको छ ।
सचिवमा क्षेत्री प्यानलकै इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका छन् । आलमले एक हजार एक सय ७ मत र चौधरीले एक हजार एक सय ५९ मत प्राप्त गरेर विजयी भएका छन् भने पटेल प्यानलका विश्वराज घिमिरे ४ सय ६५ मत र विरेन्द्र यादवले ५ सय ९७ मत पाएका छन् ।
सह सचिवमा क्षेत्री प्यानलकै नविनकुमार सिंह र मदन राउत अहिर विजयी भएका छन् । सिंहले सबैभन्दा बढी एक हजार २ सय ५३ मत र अहिरले एक हजार एक सय ११ मत प्राप्त गरेका छन् भने पटेल प्यानका लुकमान अन्सारीले ४ सय ५१ र दिलिप राज कार्कीले ५ सय ८२ मत पाएका छन् ।
क्षेत्री प्यानललाई संस्थापन पक्षका नेता पार्टीका केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया, पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र चौधरी, अनिल रुगंटा लगायतका नेताको समर्थन रहेको थियो भने पटेल प्यानललाई संस्थापन इतर पक्षका नेता निर्वतमान जिल्ला सभापती अजय द्विवेदी, नेता राजेन्द्रबहादुर अमात्य लगायतका नेताहरुको समर्थन रहेको थियो ।

















