कलैया,मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् ।
मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर रु तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रकम विनियोजन गरेको थियो ।
प्रदेश लेखा एकाइ कार्यालयका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले बाराका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१ दशमलव ०९ प्रतिशत अर्थात् रु तीन अर्ब ६९ लाख ५४ हजार तीन सय ९५ रकम खर्च भएको जानकारी दिनुभयो । “गत आवमा बाराका सरकारी कार्यालयको चालु र पुँजीगत दुवैतर्फ गरेर समग्रमा ८१ दशमलव ०९ प्रतिशत खर्च भएको छ । गत आवको समग्रमा खर्च उत्साहप्रद रहेको छ”, उहाँले भन्नुभयो, “बाराका सरकारी कार्यालयको चालु खर्च ७४ दशमलव ०२ प्रतिशत छ ।” उहाँले बाराका सरकारी कार्यालयले गत आवमा पुँजीगत खर्च पनि उत्साहजनक ढङ्गले गरेको जानकारी दिनुभयो ।
प्रदेश सरकारले बाराका १६ पालिकाका लागि रु २० करोड ४२ लाख ३६ हजार बजेट विनियोजन गरेकामा सो अवधिमा रु १६ करोड ४२ लाख ३५ हजार छ सय ७९ रकम खर्च गरेका छन् ।बाराका सरकारी कार्यालयले गत आवमा रु ११ करोड ११ लाख ७७ हजार चार सय २७ रकम सङ्कलन गरेका छन् । प्रदेश लेखा एकाइ कार्यालयको कार्यक्षेत्र बारा र पर्सा हुन् ।



















