सिमरा,स्थानीय एक युवकको मोटरसाइकलमा मृत्यु भएको २४ घण्टा बित्न नपाउदै बाराको पथलैयामा आइतवार दिउँसो पनि मोटरसाइकल दुर्घटानामा अर्का एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाही बागमति नगरपालिका कर्मैयाका ३५ वर्षीय मानबहादुर प्रधान रहेका छन् । मोटरसाइकल चालक प्रधानको कारको ठक्करबाट मृत्यु भएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत पथलैयाबाट करिब एक किलोमिटर उत्तरतर्फ दुर्घटना भएको हो । हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बा ५८ प ४१४५ नम्बरको मोटरसाइकललाई बीएबी ५०३५ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ । यसअघि पथलैयामा शनिवार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २७ वर्षीय युवक आदेश तामाङको मृत्यु भएको थियो । सो दुर्घटनामा पैदल यात्री अर्का एक युवक घाइते भएका थिए ।

















