वीरगञ्ज,वीरगञ्जमा सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका छन् । मृतक वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया टोल बस्ने २९ वर्षीय फैयाजुल हकको मृत्युपछि आवश्यक क्षतिपूर्ति र कारबाहीको माग गर्दै मृतकका काका बसिर मिया हजामले मंगलवार जाहेरी दिनुभएको हो ।जाहेरीमा उल्लेख भएअनुसार साउन ३१ गते राती साढे ११ बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित माईदिया पोखरी नजिकको बाईपास सडकखण्डमा दुर्घटना भएको थियो । वीरगञ्ज महानगरपालिकाको सूचना प्रविधि शाखामा काम गरी फैयाजुल बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ बस्ने जयमंगलराज गुप्ताले चलाएको मधेश
प्रदेश ०३–००५ प. ५७२२ नम्बरको मोटरसाइकलमा पछाडि बसेर घरतर्फ जाँदै थिए ।बाईपास सडकमा बि.आर २२ बि.सी.०४९२ नम्बरको भारतीय होन्ड्याई कारले मोटरसाइकललाई ठक्कर दिएको जाहेरीमा उल्लेख छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिबा बस्ने २० वर्षीय प्रियाकुमारी सर्राफले उक्त कार चलाईरहेकी थिइन् । उनीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ भगवती टोल बस्ने ३० वर्षीय राहुलराज सर्राफ समेत कारमा सवार थिए । कारले कुनै नदिइ सडकमा मोड्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जाहेरीमा लेखिएको छ । कारको ठक्करबाट मोटरसाइकल चालक जयमंगलराज गुप्ताको शरीरको विभिन्न भागहरुमा सामान्य चोट लागेको छ भने पछाडि सवार फैयाजुलको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
दुर्घटनापछि फैयाजुललाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मंगलवार राति करिब १० बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । चिकित्सकले मृत घोषणा गरेपछि शबलाई सनाखतको लागि वीरगञ्जस्थित नारायणी अस्पतालको शब गृहमा राखिएको छ ।
प्रियाकुमारी सर्राफले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम सवारी ज्यान सम्बन्धी कसूर गरेको हुँदा पक्राउ गरी सोही बमोजिमको कारवाही गर्नुपर्ने जाहेरीमा माग गरिएको छ । साथै सोही ऐनको दफा १६३ बमोजिम मृतक भतिजको सम्पूर्ण उपार खर्च, क्रिया खर्च र क्षतिपूर्ति समेत भराई पाउनुपर्ने काकाको माग छ ।
जाहेरीमा मृतकका परिवारका पक्षले लेखेको कुरा र प्रहरीले दिएको प्रतिक्रिया आपसमा बाँझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले मोटरसाइकल चालककै त्रुटी रहेको प्रतिक्रिया दिनुभयो । उहाँकाअनुसार कारलाई मोटरसाइकलले नै ठक्कर दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले पनि कारलाई मोटरसाइकलले ठक्कर दिएको मुचुल्का उठाइएको बताउनुभयो । यद्यपि उहाँले घटनाको बारेमा सो क्षेत्रमा रहे सिसिटिभी फुटेज हेर्नेदेखि अन्य आवश्यक अनुसन्धान भइरहेको पनि बताउनुभएको छ ।यसअघि प्रहरीले मृतकका परिवारजनले दिएको जाहेरी दर्ता नगरेको भन्दै स्थानीय बासिन्दाहरूले नारायणी अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण केही बेर सडक अवरुद्ध भएको थियो । प्रहरीले घटनाका दोषिमाथि कानुनी कारबाही गर्ने आश्वासन दिएपछि प्रदर्शन रोकिएको थियो ।

















