पुष्पराज खतिवडा
बारा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित मौवादेवी युवा क्लब, बडहर्वाले आफ्नो २७औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । मंगलवार स्थापना दिवसको अवसरमा क्लबले बडहर्वा चोकमा रहेको आफ्नै भवनमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको हो ।

शिविरको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले १२ पाउण्डको केक काटेर उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि उपप्रमुख अधिकारीले युवा क्लबले समाज सेवा र युवाहरूको सचेतना अभिवृद्धि कार्यलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो । साथै, उहाँले समाजमा विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्न क्लबलाई सशक्त रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उपमहानगरपालिकामा जारी विवादबारे बोल्दै अधिकारीले पालिका अस्वस्थ अवस्थामा रहेको भन्दै अब पालिका सन्चो भएपछि क्लबलाई सहयोग गर्न पालिका तत्पर रहेको आश्वासन दिनुभयो । “मेरो पालिकासँग तपाईहरूले ठुलो अपेक्षा राख्नुभएको छ, तर अहिले पालिका अस्वस्थ छ, उहाँले भन्नुभयो, केही व्यक्तिहरूले पालिकालाई आफ्नो निजी सम्पत्ति जस्तो ठानेका छन्, अन्ततः सत्यको जित हुनेछ ।’
कार्यक्रममा क्लबलाई सहयोग गर्ने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, पूर्ववडा अध्यक्ष अर्जुनप्रसाद दाहाल, वडा सदस्य लक्ष्मीमाया वाइवा, सर्वशुलभ साकोसका अध्यक्ष विमलराज भारती, पत्रकार एवंम सहकारीकर्मी पुष्पराज खतिवडा, बडहर्वा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद वाग्ले र मौवादेवी टोल सुधार समितिका अध्यक्ष पूर्णहरी केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।क्लबका सचिव जगदिप कोइरालाको संचालन, पूर्वअध्यक्ष बसन्त खतिवडाको स्वागत मन्तव्य र क्लबका अध्यक्ष निर्मलकुमार यादवको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । रक्तसंचार केन्द्र वीरगञ्ज र एभरग्रीन तराईसिमरा अस्पतालको प्राविधिक सहयोगमा रक्तदान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो ।
















