कलैया,खानेपानी मन्त्री प्रदीप यादवले सोमवार बाराको कलैया उपमहानगरपालिकामा विभिन्न आयोजनाको उद्घाटन तथा शिलान्यास गर्नुभएको छ । मन्त्री यादवले वडा नम्बर २६ को महेशपुरमा आयोजना गरिएको एक कार्यक्रममा महेशपुर खानेपानी आयोजनाको शिलान्यास गर्नुभएको हो ।
करिब ९ करोडको लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको प्रथम चरण अन्तर्गत खानेपानी ओभर हेडको विधिवत पूजाआजा गर्दै उहाँले शिलान्यास गर्नुभएको हो । सो आयोजनाले कलैया उपमहानगरपालिकाका १५, २६ र २७ का करिब १५ हजार स्थानीय बासिन्दाहरूको दीर्घकालीन सपना साकार पार्ने दिशामा उठाइएको एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
गर्मीको मौसममा खानेपानीको विकराल समस्या हुने ती वडाहरूमा खानेपानी आयोजना निर्माण भएपछि नागरिकले राहतको अनुभूति गर्नेछन् । त्यस्तै मन्त्री यादवले कलैयाको वडा नम्बर ८ स्थित खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालनको घोषणा गर्नुभएको छ ।नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सो प्रणाली संस्थागत रूपमा सञ्चालनमा आएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्वाला साह, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्वसांसद रामबाबुकुमार यादव, पूर्व प्रदेशसभा सदस्य पारष प्रसाद साह, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, वडाध्यक्षहरू धर्मेन्द्र यादव, अशोक तिवारी, रामेश्वर यादव, रञ्जित चौरसिया लगायत आम सर्वसाधारणको सहभागिता रहेको थियो ।

















