काठमाण्डौ – नेकपा एमालेले अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । आज बसेको सचिवालय बैठकले अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहारको विरोध गर्दै संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन हुने कुनै पनि कार्य नर्गन आग्रह गरेको हो ।एमाले उपमहासचिव लेखराज भट्टले अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहार अन्तर्राष्ट्रिय कानून र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको बताउनुभयो । स्थायी विश्व शान्तिको पक्षमा नेपाल रहेको उल्लेख गर्दै उहाँले सबै राष्ट्रहरू एउटै मूल्य र मान्यताका आधारमा अघि बढ्न एमालेले आग्रह गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सदैव स्थायी विश्व शान्तिको पक्षमा छौँ । हामी एउटा मूल्यमा चल्नुपर्छ, संयुक्त राष्ट्रसङ्घको बडापत्रका आधारमा चल्नुपर्छ । देशको सार्वभौमिकता, अखण्डताको सम्मान गर्नुपर्छ । अमेरिकाद्वारा भेनेजुएलामा भएको व्यवहार र विश्व न्यायिक दृष्टिकोणले हेर्दा कदापि स्वीकार्य हुन सक्दैन । यस्तो घटनाको हामी विरोध गर्दछौँ । विश्व व्यवस्थातर्फ फर्कन हामी आह्वान गर्दछौँ ।’एमालेले जनकपुर र वीरगञ्जमा भएको सामाजिक सद्भाव खलबलाउने घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । द्वन्द्व भड्काउने काम नगर्न र सामाजिक सद्भाव कायम राख्न एमालेले आग्रह गरेको छ ।



















