काठमाडौँ : भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन्।
सो भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो। परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ।
भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको उल्लेख गरिएको छ। मन्त्री डा. राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेकी थिइन्।
आज दिउँसो उनीहरूबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो।
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतवार नयाँ दिल्ली पुगेकी हुन्। मन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ।


















