वीरगन्ज,वीरगन्जको घडीअर्वा छठघाट परिसरमा यसपाली पनि सुरक्षाको सवालमा कुनै कमी हुन नदिने सुरक्षा अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् ।
घडीअर्वा छठपूजा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको सुरक्षा समितिको बैठकमा सहभागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारीहरुले बुधबार र बिहीबार घडीअर्वा छठघाटमा सुरक्षाको मजबुत प्रवन्ध मिलाइने प्रतिबद्धता जनाएका हुन् । घडीअर्वा छठघाटमा पुजा र दर्शनका लागि भक्ताजन तथा दर्शनार्थीहरुको सुरक्षा र सहजताका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै घडीअर्वा स्पोर्टस क्लबका स्वयंसेवकहरु परिचालन गरिने बताइएको छ ।
पाकेटमार र अवाञ्छित गतिविधि गर्न सक्नेहरुलाई लक्षित गरि सादा पोशकामा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भन्दै सुरक्षा अधिकारीहरुले सकभर बढी गरगहना लगाएर नआउन आग्रह पनि गरेका थिए । घडीअर्वा छठघाटमा बुधबार दिउसो पूर्वयुवराज्ञी हिमानी शाह पनि दर्शनका लागि आउने भएकाले यसलाई लक्षित गरी सुरक्षा व्यवस्था अझ व्यवस्थित पारिने पर्साका प्रहरी नायव उपरीक्षक प्रहलाद कार्कीले बताउनुभयो ।
यस्तै वीरगन्ज महानगरपालिकाको वारुण यन्त्र र नेपाल रेडक्रस सोसाइटीले एम्बुलेन्स पनि तयारी अवस्था राखिने जानकारी बैठकमा गराइएको थियो । बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सुरक्षा प्रवन्धमा कुनै कसर बाँकी नराखिने भएकाले ढुक्कसंग छठ पर्व मनाउन जिल्लावासीसंग आग्रह गर्नु भयो । घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानुको अध्यक्षतामा भएको बैठकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोका, एसटिएफका प्रहरी नायव निरीक्षक हिरा बुढाथोकी, नेपाली सेनाका मेजर टपेन्द्र कार्की, नेपाल रेडक्रस सोसाइटी पर्साका प्रतिनिधि सन्तोष गुप्ता, वीरगन्ज महानगरपालिका कार्यपालिका सदस्य सुशील साह कानु, समाजसेवी पशुपति विक्रम शाह, घडीअर्वा स्पोटर्स क्लबका अध्यक्ष लखनलाल गुप्ता, छठ पूजा व्यवस्थापन समिति सुरक्षा उपसमितिका संयोजक अजय गुप्तालगायतको पनि सहभागिता रहेको थियो ।
पूर्वयुवराज्ञीले वीरगन्जमा छठ मनाउने
पूर्वयुवराज्ञी हिमानी शाहले वीरगन्जको घडिअर्वा पोखरीको छठ घाटमा यस वर्ष सहभागी हुनुहुने भएको छ । मंगलबार वीरगजमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम तय भएको २०४७ सालको संविधान पुर्नस्थापना हाम्रो अभियानले जनाएको छ ।
बुधबार अपरान्ह ३ बजे सिमरा विमानस्थलमा अवतरण गरेपछि स्थलमार्ग हुदै वीरगन्ज आएर साँझ ब्रतालुसंग केही घण्टा बस्ने कार्यक्रम रहेको अभियानले जनाएको हो । अभियानका अनुसार विगत तीन वर्षदेखि पूर्वयुवराज्ञी शाह छठ पर्वको समयमा काठमांडौ सहित तराई मधेशका विभिन्न स्थानमा सहभागी हुदै आउनुभएको छ ।
पूर्वयुवराज्ञी शाहको वीरगन्ज आगमन भएपछि बारा र पर्साका राजावादी संघसस्थाहरुले स्वागत गर्ने र त्यसपछि घडिअर्वा पोखरी छठ घाटमा सहभागी हुने राप्रपाका केन्दीय सदस्य नगीना यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वयुवराज्ञी शाह बिहीबार विहान माईस्थान मन्दिर दर्शन गरेर काठमांडौ फर्किने कार्यक्रम रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यसैबीच पूर्वयुवराज्ञीको भ्रमणलाई ध्यानमा राखेर वीरगन्जको घडीअर्वा पोखरीमा पुष्पवृष्टि गरिने भएको छ । हेटिकप्टरबाट बुधबार अपरान्ह घडीअर्वामा पुष्पवृष्टि गर्न लालिएको काठमाडौंमा मंगलबार आयोजत पत्रकार सम्मेदनमा जानकारी गराइएको हो ।
वीरगन्जको घडीअर्वा पोखरी र बाराको बहुअरी पोखरीसहितका प्रदेश २ का केही घटघाटहरुमा हेलिकप्टरबाट पुष्प वृष्टि गरिने राजावादीहरुले जानकारी दिएका छन् । घडीअर्वा पोखरीमा भने बुधबार अपरान्ह ४ बजेतिर पुष्पवृष्टि हुनेछ ।