सिमरा,पर्सा राष्ट्रिय निकुन्जले वन्यजन्तुको परम्परागत पदमार्गमा पर्ने त्रिभुवन राजपथको पथलैया– अमलेगखगन्ज सडक खण्डमा ३ किलोमिटर ओभर पास बनाउने प्रस्ताव गरेको छ ।सडक विभाग, वन मन्त्रालय, राष्ट्रिय निकुन्ज विभाग लगायत सरोकारवाला निकायका पदाधिकारी सम्मिलित अध्ययन टोलीलाई यस्तो प्रस्ताव गरेको निकुन्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । सवारी दुर्घटनामा परेर हुने वन्यजन्तुको क्षति न्यूनीकरणका लागि विभिन्न विकल्पबारे सुझाव संकलन गर्न आएको टोली समक्ष आफूहरुले त्रिभुवन राजपथको पथलैयादेखि अमलेखगन्ज खण्डमा कम्तीमा ३ किमि लामो ओभर पास निर्माणको सुझाव दिएको बताउनुभयो ।

विशेष गरी राजमार्गको यो ८ किमि सडक खण्ड वन्यजन्तुको अत्यधिक आवागमन हुने क्षेत्र मानिन्छ । खतिवडाले यसै खण्डमा निकुन्जका रैथाने जंगली हात्तीको परम्परागत पदमार्गसमेत रहेको बताउनुभयो ।
हात्तीको समूह प्रायः आफ्नै पदमार्गमा निस्कने गर्छन् । साउन÷भदौ महिनामा निकुन्जका हात्ती र पूर्वबाट यहाँ आउने हात्तीको समूह पनि राजमार्ग पार गरेर आफ्नो यात्रा तय गर्ने गर्छन् । खतिवडाले प्रस्तावित ओभर पास एउटै नभएर २ वा ३ खण्डमा पनि हुन सक्ने सुझाव आफूहरूले दिएको बताउनुभयो । ‘३ किमि लामो एउटै ओभर पासले वन्यजन्तुको परम्परागत पदमार्ग बिथोल्न सक्ने भएकाले त्यसलाई ३ खण्डमा बनाउन उचित हुने सुझाव दिएको पनि सुनाउनुभयो ।
यो ३ किमि लामो ओभर पास बाहेक अन्य क्षेत्रमा निकुन्जमा घेराबेरा गरेपछि वन्यजन्तुले ओभर पासमुनिको निश्चित बाटो भएर मात्र यात्रा गर्ने र उनीहरू राजमार्गमा आउने सम्भावना नहुने भएकाले दुर्घटनाको जोखिम पनि नरहने उहाँले बताउनुभयो । उक्त ओभर पासको उचाइ कम्तीमा वयस्क हात्तीभन्दा पनि बढी हुनु पर्ने खतिवडाको भनाई छ । खतिवडाका अनुसार आफ्नो उचाइभन्दा कम वा आफू सुरक्षित हुने उचाइ नभएपछि जोखिम मोलेर हात्तीले कहिल्यै यात्रा गर्दैन ।

Leave a Reply