कारबाही गर्न आयोगद्धारा प्रहरीलाई पत्र, एक लाख जरिवाना वा दुई वर्ष कैदको व्यवस्था
रौतहट ३ कार्तिक । निर्वाचन आचारसंहिता विरुद्ध अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले बिहिवार रौतहट क्षेत्र नम्बर एकका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपाललाई र सोह पार्टिका नेता बारा क्षेत्र नम्बर ४ प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार बिसान श्रेष्ठलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ
रौतहटको राजदेवी नगरपालिकामा चार दिन अघि चुनावी सभालाई सम्बोधन गर्दे पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले मतदाताहरुलाई रिझाउन फ्रि भिसा फ्रि टिकटमा रोजगारीको लागि विदेश पठाउने सपना बांडेको भन्दै निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरीलाई पत्र पठाएको हो ।
निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकार घिमिरेले आवश्यक प्रकृया अगाडि बढाउन भन्दै जारी गरेको विज्ञप्तीमा नेपालले आफु चुनाव जिते देश बाहिर युवाहरुलाई रोजगारीको अवसर दिने आश्वासन बांडेको भन्दै निर्वाचन आयोगले जनाएको छ । सम्बोधनको क्रममा नेपालले बिना ढेउवाके भिसा मिल्ते है, टिकट मिल्ते है काठमाण्डौमा तालिम मिल्ते है भनि सार्वजनिक रुपमै वक्तव्य दिएको विभिन्न समाजिक संजालमा भाइरल तथा सार्वजनिक भएपछि आयोगबाट गठित समाजिक सञ्जाल अनुगमन टोलीबाट अध्यन तथा परीक्षण गर्दा नेपालले दिएको वक्तव्यलाई नकार्न नसकिने देखिएको हुंदा कारबाही गर्न पत्र काटिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन (कसुर तथा सजाय ) ऐन, २०७३ को दफा २० को उपदफा (१) मा निर्वाचनको क्रममा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले स्वार्थ भएको कुनै काम नगर्न स्पष्ट व्यवस्था रहेको छ । रौतहट क्षेत्र नम्बर एकका प्रतिनिधी सभा सदस्यका उम्मेदवार नेपालले निर्वाचन आचारसंहिता विपरित कार्य गरेकोले एक लाख जरिवाना वा दुई वर्ष कैद सजाय अथवा दुवै सजाय हुने व्यवस्था रहेको जनाएको छ ।
प्रतिनिधिसभा उम्मेदवार नेपालले निर्वाचनको बेला युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले उक्त सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय ) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाहीको लागि प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ ।