सिमरा,मधेश क्रिकेट लिगको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ । लिग चरणको अन्तिम खेल सम्पन्न भएसंगै सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो ।बारा, धनुषा, सप्तरी र रौतहट सेमिफाइनलमा प्रवेश गरेका हुन । बारा १३ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । लिग चरणमा सात खेल खेलेको बाराले ६ वटा खेलमा जित हात पारेको थियो भने एक खेल वर्षाले बिथोलिएको थियो ।

यसैगरी धनुषा सात खेलमा चार जित, दुई हार र एक बराबरीसहित ९ अंकका साथ दोस्रो स्थान हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने सप्तरी पनि समान नतिजा र अंकसहित तेस्रो हुँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।
चौथो स्थान सुरक्षित गर्दै सेमिफाइनल प्रवेश गरेको रौहटले सात अंक बटुलेको छ । रौतहटले सात खेलमा तीन जित, तीन हार र एक बराबरीको नजिता निकालेको थियो ।

प्रतियोगितामा सहभागी अन्य चार जिल्ला पर्सा, सिरहा, महोत्तरी र सर्लाही लिग चरणबाटै बाहिरिएका छन् । पर्सा र सिहराले ७–७ अंक बटुलेपनि नेटरनरेटका आधारमा रौतहट अघिल्लो चरणमा प्रवेश गरेको हो । यसैगरी महोत्तरीले चार र पुछारमा रहेको सर्लाही अंकविहिन बनेको छ ।फाइनल प्रवेशका लागि पहिलो स्थानमा रहेको बाराले मंगलवार रौतहटसंग खेल्नेछ । यसैगरी दोस्रो स्थानमा रहेको धनुषा र तेस्रो स्थानको सप्तरीबीच खेल हुने मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए ।मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेश प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । बाराको कलैया र पर्साको वीरगन्जमा भएको खेलमा मधेशका आठ जिल्लाको सहभागिता थियो । प्रतियोगिताको फाइनल खेल बिहीवार वीरगञ्जमा हुनेछ ।

Leave a Reply