पुष्पराज खतिवडा
मनहर्वा,नेपाली सेनाले बारा जिल्लाको ४४६ हेक्टर वन क्षेत्रको खाली जमिनमा वृक्षरोपण गरेको छ । तराई मधेशलाई काठमाण्डौंसँग जोडने निजगढ– काठमाडौं द्रतमार्ग निर्माणका क्रममा कटनी गरिएका ३४ हजार रुख विरुवाको बदलामा सेनाले बाराको वन क्षेत्रभित्रको खाली स्थान पहिचान गरि वृक्षरोपण गरिरहेको हो ।
२०७७ र ०७८ सालमा गरी सेनाले ३५० हेक्टर क्षेत्रमा वृक्षरोपण सम्पन्न गरिसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका र निजगढ नगरपालिकाका ग्रामिण क्षेत्रसँग जोडिएको अतिक्रमणको चपेटामा परेको राष्ट्रिय वन सेनालाई जिम्मा दिइएको डिभिजन वन बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो । उहाँकाअनुसार नयाँ वन बनाउन जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत १८३ दशमलब ६ हेक्टर, कोल्हवी नगरपालिकामा १२६ दशमलब ५५ र निजगढ नगरपालिकामा १३६ दशमलब ५५ गरी ४४६ दशमलब १६ हेक्टर क्षेत्रफलमा २०७८ सालभित्र वृक्षरोपण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । जसमध्ये जीतपुरसिमरामा पर्ने १४ र कोल्हवी नगरक्षेत्रमा ३० हेक्टर वन कार्यालय आफैले अघिल्लो वर्ष वृक्षरोपण गरेको हो ।
सेनाले कुल क्षेत्रफलको करिब १० प्रतिशत क्षेत्रमा स्थानीय वन समितिकोहरुको आम्दानीको श्रोत निर्माणमा सहयोग पुगोस् भन्ने उदेश्यले फलफूलका विरुवा समेत रोपेको छ । आँप, लिच्ची र कटहरका विरुवा सँगै विभिन्न वन प्रजातिका विरुवा वन क्षेत्रमा रोपिएको डिभिजन वन प्रमुख अहमद्ले बताउनुभयो ।
द्रुतमार्ग निर्माणका क्रममा पूर्वपश्चिम लोकमार्गदेखि चुरेको फेदीसम्म करिब २ सय मिटर चौडा र ३ किलोमिटर लम्बाईभित्रका ३४ हजार बढी रुख विरुवा काटेको थियो । काटिएका एक बोट बराबर सेनाले २५ वटा विरुवा रोप्नु पर्ने प्रावधान अनुसार ८ लाख ५० हजार विरुवा रोपेर हुर्काउनु पर्नेछ ।
‘त्यसका लागि करिब ५५० हेक्टर जमिन आवश्यक पर्ने थियो, जुन क्षेत्रमा सेनाले काम गरिरहेको हो ।’ वन प्रमुख अहमद्ले बताउनुभयो । थप वन क्षेत्रको पहिचान गर्ने काम भइरहेको छ । जीतपुरसिमराको वडा नम्बर १६ र १५ नजिकै करिब सवा सय हेक्टर वन क्षेत्रमा उक्त क्षेत्र विस्तार गर्ने योजना बनाइएको उहाँले बताउनुभयो ।
सेनाले मकवानपुर जिल्लामा काटिएका रुखको सोधभर्ना बारामा गर्न चाहेको बताउँदै आएको छ । नेपाली सेनाले विरुवा संरक्षणका लागि केहि दर्जन हेरालु समेत नियुक्त गरेकाले विरुवा हुर्कन समय नलाग्ने उहाँले बताउनुभयो ।
साँघुरिँदै बाराको वन क्षेत्र
यसैबीच बाराको वन क्षेत्र साँघुरिँदै गएको पाइएको छ । एकदशक यता राष्ट्रिय वन क्षेत्रभित्र विभिन्न परियोजना संचालन गरिएको र अतिक्रमणमा समेत परेर वन साँघुरिँदै गएको डिभिजन वन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद्ले बताउनुभयो । ४६ हजार १३६ हेक्टर क्षेत्रफलमा रहेको उक्त कार्यालय अन्तगतको राष्ट्रिय वन हाल करिब २१ हजार हेक्टरमा सिमित हुन पुगेको छ । यस अवधिमा १६ हजार हेक्टर वनको क्षेत्रमा पर्सा राष्टिय निकुञ्ज विस्तार भएको छ । ८ हजार ४८ हेक्टर निजगढ विमानस्थल र ३० हेक्टर वन क्षेत्र द्रुतमार्गमा परेको छ । त्यसैगरी करिब १ हजार १९४ हेक्टर वन स्थानीयको अतिक्रमणमा परेर साँघुरिएको उहाँले बताउनुभयो ।
हाल २० हजार ८६४ हेक्टरमा डिभिजन वन कार्यालय मातहत रहेको अहमदले जानकारी दिनु भयो । जिल्लाको जितपुरसिमरा, कोल्हबी र निजगढ क्षेत्रमा वन अतिक्रमण परेपछि पछिल्ला केही वर्ष यता नियन्त्रणका प्रयासहरु भइरहेको कार्यालय प्रमुख अहमदले बताउनुभयो ।
निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ को सिंगौलमा केहीले वन मिचेर केरा खेती गरेको पाइएको छ । निजगढकै सिंगौल, लाल रतनपुर लगायत स्थानको वन अतिक्रमणमा परेको करिब ६० हेक्टर, कोल्हवीको ३० र जितपुरसिमराको करिब २२ हेक्टर गरी १ सय १२ हेक्टर अतिकक्रमित जमिन दुई वर्षअघि मात्रै वन क्षेत्र फर्काउने काम भएको थियो ।