रौतहट,रौतहट जिल्लाको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ज्ञापन पत्र बुझाउनुभएको छ ।सोमवार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गर्नुपर्ने माग गर्नुभएको हो । तहगत र विषयगत अपुग शिक्षक तत्काल आपूर्ति नगरिए भदौ महिनादेखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनी समेत मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई दिनुभएको छ ।

मौलापुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा आठ हजारभन्दा विद्यार्थी अध्ययनरत रहेका छन् ।शिक्षक दरबन्दी एक सय ६० हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै रहेका छन् । हाल मौलापुरमा एक सय २ शिक्षक दरबन्दी अपुग रहेको छ । ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले विभिन्न विद्यालयमा अपुग रहेका शिक्षक दरबन्दी छिट्टै नै व्यवस्थापन गर्ने गृहकार्यमा लागेको जानकारी गराउनुभएको थियो । ‘हामी अध्ययन गरिरहेका छौँ । विभिन्न विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएकाले छिटै नै व्यवस्थापन गर्दैछौं । तपाईँहरू आन्दोलन नगरिदिनुहोला ।’ उहाँले भन्नुभयो ।

Leave a Reply