जियालाल चौधरी
कोल्हबी,तामागढी साझेदारी वन उपभोक्ता समूह कोल्हबी नयाँ कार्यसमिति चयनको लागि हुन लागेकोे निर्वाचन स्थगित भएको छ ।निर्वाचन समितिका संयोजक जिल्ला अदालत बाराका स्रेस्तेदार नवराज शर्माले बिहीवार साँझ सूचना निकालेर मनोनयन दर्तादेखि हालसम्मको सम्पूर्ण कार्य यथास्थितिमा राख्दै अर्को सूचना जारी नहुन्जेलसम्मको निर्वाचन कार्य स्थगित भएको जानकारी गराउनुभएको हो ।कार्यसमिति चयनको लागि उम्मेदवारी दर्ताको प्रक्रिया पुरा भएपछि निर्वाचन प्रकृया रोकिएको हो । १७ सदस्यीय कार्यसमितिमा अध्यक्ष पदमा ६ जनासहित ४३ जनाको उम्मेदवारी परेको छ । समितिको अध्यक्षमा बीरेन्द्र पनुहर, ओमप्रकाश चौधरी, विष्णुदयाल सहनी, रविन्द्र पनुहर, प्रकाश चौधरी र दिनेश कुशवाहाको उम्मेदवारी परेको छ । ३ जना महिला सदस्यको लागि २ जनाको मात्रै उम्मेदवारी परेरपछि निर्विरोध चयन भएका छन । कार्यसमितिमा अध्यक्ष सहित १४ जना प्रतक्ष्य निर्वाचित हुने प्रावधान छ । निर्वाचनमा २३८ जना मतदाता रहेका छन ।यसअघि बुधवार साझेदारी वन व्यवस्थापन समितिको चौथो साधारणसभाको मधेस प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरीले उद्धाटन गर्नुभएको थियो ।उद्धाटन कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला वन सुरक्षा समितिका अध्यक्ष नवराज सापकोटा, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, साझेदारी वन उपभोक्ता महासङ्घका केन्द्रीय अध्यक्ष एवं कोल्हवी नपाका प्रमुख रामप्रसाद चौधरी, डिभिजन वन कार्यालय, सर्लाहीका प्रमुख मन्जुर अहमद, डिभिजन वन कार्यालय, रौतहटका प्रमुख सुनील कर्ण, राष्ट्रिय अनुसन्धान कार्यालय, बाराका प्रमुख अभिनय सिंह, साझेदारी वन उपभोक्ता महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष रामरूप कुर्मी, प्रदेश अध्यक्ष गणेशप्रसाद साह, फेकोफन बाराका अध्यक्ष रामजी बजगाईं, सिम्रौनगढ नपाका प्रमुख किशोरी साह, कोल्हवी नपाकी उपप्रमुख लक्ष्मीकुमारी चौधरी, आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद, गढीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रामएकबाल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि र अन्य अतिथिहरुलाई डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले मायाको चिनो उपहार दिनुभएको थियो ।डिभिजन वन कार्यालय बाराको आयोजनामा भएको सो साधारण सभाको अध्यक्षता जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्रकुमार साहले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत जवाहरलालप्रसाद कुर्मीले गर्नुभएको थियो ।



















