निजगढ,निजगढ नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।निजगढ नगरपालिकाले दुई पालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने प्रक्रिया सुरु गरेपछि छफलफलको लागि आज निजगढ आइपुग्नु भएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूहरु पनि भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको र थप छलफलपछि यस विषयमा निर्णयमा पुगिने बताउनुभयो । ‘ललितपुर पनि निजगढसंग भगिनी सम्बन्ध कायम गर्न इच्छुक छ, मेयर महर्जनले भन्नुभयो, केही समयभित्रै यो आकांक्षाले साकार रुप प्राप्त गर्ने छ ।’
निजगढ नगरपालिकाबाट सम्बन्ध कायम गर्न पत्राचार भएपछि मेयर महर्जन कार्यालयका प्रशासन प्रमुख सागर थापासहित दिउसो निजगढ आइपुग्नुभएको थियो ।

निजगढका नगर प्रमुख सुरथ पुरीको कार्यकक्षमा भएको छलफलको क्रममा निजगढ नगरपालिकाको बारेमा जानकारी लिनुको साथै ललितपुर महानगरपालिकाले सम्पादन गरेका विकास निर्माणलगायतका योजनाहरुको बारेमा पनि जानकारी दिनुभएको थियो ।सोही क्रममा निजगढ– काठमाण्डौं द्रुतमार्गको बुङ्गमतिमा विवाद उत्पन्न भएपछि आफूहरुकै पहलमा हाल नेपाल सरकारले ललितपुरकै फर्सिडोलबाट वैकल्पिक सडक निकाल्ने तयारी गरेको पनि जानकारी दिनुभयो ।निजगढका मेयर सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा, विभिन्न वडाका वडा अध्यक्षहरुले मेयर महर्जनको स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले ललितपुर निजगढबाट सबैभन्दा नजिकको महानगरपालिका भएको र भगिनी सम्बन्ध कायम भएपछि दुबै पालिकाले लाभ लिनसक्ने बताउनुभयो । ‘ललितपुर निजगढबाट अहिले पनि नजिकै छ, उहाँले भन्नुभयो, निजगढ–काठमाण्डौं द्रुतमार्ग निर्माण भएपछि एक घण्टाभित्रमै पुग्न सकिन्छ ।’नगर प्रमुख पुरीले निजगढको सामाजिक, आर्थिक, भौगोलिक र भविष्यको शंभावनाबारेमा पनि मेयर महर्जनलाई जानकारी गराउनुभएको थियो । निर्माणाधिन द्रुतमार्ग, पूर्वपश्चिम र रक्सौल–काठमाण्डौं रेल्वे तथा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलसंग जोडिएको निजगढसंगको भगिनी सम्बन्धबाट दुबै पालिकाका बासिन्दाले लाभ लिनसक्ने मेयर पुरीको भनाई थियो । ‘ललितपुरलाई यहाँको खाद्यान्न, फलफूल र वन पैदावारको उपयोग गर्न सहज हुने छ, उहाँले भन्नुभयो, निजगढका किसानको आफ्नो उत्पादनले पनि सुरक्षित, सहज र भरपर्दो बजार प्राप्त गर्ने छन ।’
नगर प्रमुख पुरीले दुबै पक्षमा रहेका लाभकारी शंभावनालाई दृष्टिगत गर्दै निजगढ नगरपालिकाले ललितपुर महानगरपालिकासंग भगिनी सम्बन्ध बनाउने प्रस्ताव गरेको बताउनुभयो । उहाँले नगर कार्यपालिकाको गत गतेको बैठकबाट प्रस्ताव अघि बढाउने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
नेपालको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भगिनी सम्बन्ध स्थापना गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो सम्बन्धले आपसी सहकार्य, अनुभव आदानप्रदान, सांस्कृतिक सम्बन्ध विस्तार तथा विकासका क्षेत्रमा साझेदारी गर्न मद्दत पुग्ने विश्वास छ ।भगिनी सम्बन्धबाट विकासका सफल अभ्यासहरूको आदानप्रदान, प्रशासनिक क्षमता अभिवृद्धि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा सहकार्य, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विस्तार, लगानी तथा आर्थिक गतिविधि प्रवद्र्धन, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणमा साझेदारी जस्ता लाभ दुबै पक्षले प्राप्त गर्नसक्ने छन ।
त्यसैगरी यस्तो सम्बन्धबाट विद्यालय, कलेज, अस्पताल तथा स्वास्थ्य संस्थाबीच सहकार्य गरी शैक्षिक र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सकिन्छ भने दुवैले एकअर्काको पर्यटकीय स्थल, संस्कृति र पहिचानलाई प्रचारप्रसार गर्न सक्ने र कृषि, उद्योग, व्यापार तथा उद्यमशीलतामा सहकार्य गरी आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने छ ।
निजगढका नगर प्रमुख पुरी र उपप्रमुख थिङ्गले मेयर महर्जनलाई उपहारस्वरुप निजगढमा उत्पादन गरिएको माल्भो केराको घरी र दुधको खुवा उपहार दिएर बिदाई गर्नुभएको थियो ।



















