निजगढ,निजगढको गौरीशंकर कलेजको क्याम्पस सभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय बाराको निर्देशन विरुद्ध अदालतमा दर्ता भएको मुद्दा उच्चअदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले तामेलीमा राखेको छ ।मुद्दा तामेलीमा राखेर क्याम्पस सभाको प्रक्रिया अगाडि बढाउन मुद्दाका वादी र प्रतिवादी दुबै पक्ष सहमत भएपछि अदालतले मुद्दा तामेलीमा राख्ने निर्णय गरेको हो ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको रोहबरमा मुद्दाका पक्ष र विपक्षीबीच गत आइतवार सहमति भएको थियो । मुद्दा तामेलीमा राखेर क्याम्पस सभाको आयोजना गर्ने र क्याम्पसको विधान समेत प्रकृयाअनुसार संशोधन गर्ने सहमति भएको राप्रपा निजगढका अध्यक्ष खडगप्रसाद उप्रतीले जानकारी दिनुभयो ।क्याम्पस संचालक समितिले यसअघि जेष्ठ ३ गतेको लागि तय गरेको क्याम्पस सभा रोक्न जिल्ला प्रशासन कार्यालय बाराले पत्राचार गरेपछि क्याम्पस सभाका सदस्य निजगढ ९ का मानबहादुर श्रेष्ठ र निजगढ ८ का मनोज रेग्मीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित निजगढका ५ राजनीतिक दलका प्रमुख विरुद्ध सभा रोक्ने आदेश बदर गरिपाउ भनी अस्थायी इजलास वीरगञ्जमा जेष्ठ १६ गते परमादेशको आदेश माग गर्दै मुद्दा दायर गरेका थिए ।निवेदकको माग अनुसार अदालतले जिल्ला प्रशासन कार्यालय कलैया र राजनितिक दलका प्रतिनिधिहरुसंग सभा स्थगित गर्नुपर्ने कारण कारण पेस गर्न १५ दिनको म्याद दिएको थियो ।नेपाली काग्रेस निजगढ नगरका सभापती नवराज तिमल्सिना, माओवादीका धनबहादुर खुलाल, राष्ट्रिय स्वतन्त्र पाटीका रामहरी खरेल, राप्रपाका खडकप्रसाद उप्रेती र नेकपा समाजवादी पार्टीका भिमसेन सापकोटाले क्याम्पस सभा रोक्न माग गर्दै निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय बाराले सभा रोक्न भन्दै क्याम्पसमा पत्राचार गरेको थियो ।मुद्दा तामेलीमा गएपनि क्याम्पस सभाको मिति भने तय भइनसकेको व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले समितिको बैठक बसेर मिति तय गरिने जानकारी दिनुभएको छ ।

Leave a Reply