सिमरा,बारा पर्सा औद्योगिक कोरिडोरमा स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्नुपर्नेमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जोड दिनुभएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित हुलास स्टिल उद्योगमा आयोजित नेपालको सबैभन्दा ठूलो ग्याल्भनाइजिङ इकाइको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सोमवार सो कुरा बताउनुभएको हो । औद्योगिक कोरिडोरमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको बताउँदै उहाँले बिस्तारै स्थानीय नागरिकलाई दक्ष बनाएर रोजगारी दिलाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । प्रदेश सरकारले यस कार्यको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि पनि उहाँले व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, बारा र पर्सा औद्योगिक कोरिडोरमा धेरैजसो बाहिरका नागरिक कार्यरत छन्। अब बिस्तारै यहाँकै नागरिकलाई दक्ष बनाएर यहीँ रोजगारी दिन आवश्यक छ । त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग र समन्वय गर्न तयार छ। उहाँले स्थानीय नागरिकलाई आवश्यक सीप र तालिमको पाठ्यक्रम तयार गरेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।मुख्यमन्त्रीले औद्योगिक क्षेत्रलाई आवश्यक जनशक्ति तयार पार्न प्रदेश सरकारको लगानी र सहयोग कुनै कमी नहुने आश्वासन दिनुभयो । यसले गर्दा स्थानीय नागरिकले रोजगारी पाउँदा वैदेशिक रोजगारीमा जाने र बेरोजगारीको संख्या कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले स्थानीय नागरिकलाई दक्ष बनाउन र उनीहरूलाई रोजगारी दिन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।


















