वीरगञ्ज,मधेस प्रदेशको प्रदेश सभाको बुधवारको बैठकमा पूर्वमुख्यमन्त्री सरोज यादवले प्रदेशका विभिन्न योजनामा देखिएका अनियमितताका बारेमा निष्पक्ष छानबिनको माग गर्नुभएको छ । उहाँका अनुसार, प्रदेश सरकारले बाराका विभिन्न योजनामा अपारदर्शिता देखाउँदै छानबिनका लागि उदासिनता देखाएको छ ।
महेन्द्र निधी आवास कार्यक्रमका लागि बारामा १९ करोड रुपैयाँ बिनियोजन गरिएको भएपनि, सम्बन्धित योजनामा साढे ४ सय घर निर्माणको सट्टा पैसा खाएर १६ सय घरको सम्झौता भएपछि अनियमितताको आशंकामा छानबिन गर्न माग गरेको उहाँको भनाई छ । यस्तै बरियारपुरमा लागेको पञ्चवर्षिय गढीमाई मेलाभन्दा अगावै २१ करोड ४० लाख रुपैयाँको बाटो निर्माण तथा मर्मत योजनामा समेत अपारदर्शी रुपमा खर्च भएको हुँदा छानबिन गर्नुपर्ने उहाँले माग गर्नुभयो ।
बारामा निधी आवास कार्यक्रमको लागि रकम नपठाउन अर्थ मन्त्रालयमा आफैले निवेदन दिँदा पनि १० करोड रुपैयाँ निकासा भएकोमा उहाँले आपत्ति जनाउनुभएको छ । “म आफैं दोषि छु भने मेरैमाथि छानबिन गर्न किन भन्थे ? मेरो उजुरीको उद्देश्य, अनियमितताको निष्पक्ष छानबिन गराउनु हो ।” उहाँले भन्नुभयो ।
यादवले भौतिक पूर्वाधारसम्बन्धी कार्यमा समेत प्रश्न उठाउँदै, “भौतिक पूर्वाधारका कर्मचारी राजेन्द्र साहलाई मन्त्रालयमा बोलाउन र पूर्वाधारका हाकिमलाई पठाएर छानबिन गर्न आग्रह गर्नुभएको छ ।“५ करोड रुपैयाँ प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य र डेढ करोड समानुपातिक प्रदेश सभा सदस्यलाई उपभोक्ता समितिबाट काम गर्न मिल्ने भए पनि, बाँकी रकमको योजना कसरी तयार पारिन्छ ? टेण्डरबाट हो कि उपभोक्ताबाट ? र यसमा प्रदेश सभा सदस्यले भूमिका खेल्न पाउँछन् कि योजना बिक्री हुन्छ ?” उहाँले थप प्रश्न गर्नुभएको छ ।