वीरगञ्ज,पर्साको ऐतिहासिक मुख्य धार्मिक पर्यटन स्थल दुधेश्वर महादेव मन्दिर रामभौडी भाडा धाममा साउन महिना भरी चल्ने मेला सोमवारबाट सुरु भएको छ । हरेक चार वर्षमा आयोजना हुने यो मेला विशेष रुपमा श्रावण महिना, माघको बसन्त पञ्चमी, फागुनको महाशिवरात्रि, र बैशाखको त्रयोदशी तीथिका दिन मनाइन्छ ।दुधेश्वर महादेव मन्दिर समिति अध्यक्ष ज्ञानलाल पटेलका अनुसार, मेलामा धार्मिक जन विश्वास बोकेर आफ्ना भाकल पुरा गर्न भक्तजनहरु आउने गर्दछन् । विशेष गरी बारा, पर्सा, रौतहट, चितवन, तथा भारतका विभिन्न स्थानबाट महादेव प्रति आस्था राख्ने भक्तजनहरु मन्दिरमा भेला हुनेगरेका छन् ।

मेलालाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले यही श्रावण ५ गतेदेखि भाद्र ७ गतेसम्म दैनिक ८ घण्टाको लागि गढुवा लाईनदेखि चरभैया भएर मेलास्थलसम्म पुग्ने रुटलाई खुला गरेको छ । निकुञ्जले बिहान ६ बजे देखि बेलुका ६ बजेसम्मको लागि वन क्षेत्रमा पर्ने सो सडक सर्वसाधारणको लागि खुल्ला गरेको हो ।मेला समिति सदस्य मनोज यादवका अनुसार, मेलाको प्रमुख आकर्षणमा चारकोसे झाडी, जनावरहरुको अवलोकन, देउकी दहबाट जल भर्न पाइने र जंगलमा हात्ती सफारी लगायतका मनोरम दृश्यहरु रहेका छन । मेलामा आउने भक्तजनहरुले यी सबै आकर्षणहरु अवलोकन गर्न सक्नेछन् ।

Leave a Reply