बारा,कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याअघि घटना बारे बोलेको भिडियो क्लिप प्रहरीले हात पारेको छ । आफूमाथि गोली प्रहार भएपछि घाइते अवस्थामा उनले घटानाबारे सर्वसाधारणको मोवाइलमार्फत भिडियो रेकर्ड गराएको ‘क्लिप’ भेटिएपछि प्रहरीलाई अनुसन्धानमा मद्दत पुग्नुको साथै अपराधिको नजिक पुग्न सहज भएको छ ।

व्यक्तिगत रिसइबीका कारण गाउँकै एकजनाले हत्या गरेको उक्त भिडिओ क्लिपबाट खुलासा भएको हो । गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहाले आफूलाई मार्ने व्यक्तिको बारेमा भिडियोमा बोलेका छन् ।भिडियो क्लिपमा उनले गाउँकै सुरेन्द्र कुशवाहाले गोली हानेको बताएका छन् । गोली लाग्दाको बखत भएको भिडिओ रेकर्डबारे जानकारी पाइसकेको प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताउनुभएको छ ।बाराका निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले पनि मृतकले गोली लागेपछि घाइते रहँदाकै अवस्थामा बोलेका कुराहरुको भिडिओ रेकर्ड प्राप्त भएको पुष्टि गर्नुभयो । यसबाट प्रहरी अनुसन्धान साँघुरिएको अनुसन्धानमा संलग्न बारा प्रहरीका एक अधिकारीहरुको भनाई छ । भिडियो क्लिपबाट हत्याराको पहिचान भइसकेको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ । हत्या आरोपित कुशवाहा भूपू आर्मीको जवान रहेको खुलेको छ ।

यसैबीच हत्याको घटनाविरुद्ध आफन्त र स्थानीयले शनिवार कलैयामा प्रदर्शन गरेका छन । मृतकका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि कलैया–वीरगञ्ज सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए । प्रर्दशनका कारण सो सडकमा करिब २ घण्टा यातायात अबरुद्ध बनेको थियो ।शुक्रबार साँझ करिब साढे ५ बजे आदर्श कोतवाल गाउँ पालिका– ३ बातरा हुँदै मोटरसाइकलबाट कलैया जाने क्रममा अज्ञात समूहले उनलाई पछाडिबाट गोली हानेर घाइते तुल्याएको र उपचारको बयोधा अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले बताएको छ ।

बारामा पछिल्लो समय गोली प्रहार गरी सर्वसाधारणको हत्या गर्ने क्रम बढेको छ । जिल्लाको बरियारपुर, पचरौता तथा सिम्रौनगढ नगरपालिका ईलाकामा भारतीय सुटरले नेपाल प्रवेश गरि सर्वसाधारण माथि गोली प्रहार गरी हत्या गर्ने क्रम बढेको हो ।यसअघि गत वर्ष कार्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ बर्षिय गुड्‍डु भनिने रुपेश सर्राफको पनि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

Leave a Reply