सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले जेठ २८ गतेदेखि बिहानी कक्षा संचालन गर्न निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।गर्मीका कारण जेठ १६ गतेदेखि बिदा दिदै आएको उपमहानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै भोलिदेखि कक्षा संचालन गर्न निर्देशन दिएको हो । अर्को सूचना जारी नभएसम्म बिहान ६ बजेदेखि ९ः३० बजेसम्म कक्षा संचालन गर्न उपमहानगरपालिकाले निर्देश गरेको छ ।गर्मी कम नभएपछि उपमहानगरपालिकाले बिदा लम्ब्याउदै आएको थियो । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित हुने र बिहानी कक्षा संचालनको माग बढेपछि उपमहानगरपालिकाले पछिल्लो निर्णय गरेको हो ।यसैबीच दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगञ्ज महानगरपालिकाले शिक्षण संस्थाहरु थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगञ्ज महानगरपालिका नगरपालिकाको कार्यालयले जेठ १९ गतेदेखि हिजोसम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो । यद्यपि योबिचमा गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि हिजो एक सूचना जारी गरेर वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरु थप एक साता अर्थात अषाढ १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ । तापक्रम घट्नुको सट्टा झन् बढदो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप एक साता अर्थात असार १ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले हिजो जारी गरेको सूचनामा उल्लेख छ । पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो दुई सातायता अत्याधिक गर्मी बढिरहेको छ ।यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४४ डिग्रि सेल्सियससम्म पुगेको छ । बिहीवार वीरगञ्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्रि सेल्सियस मापन गरिएको थियो भने हिजो झन् बढेर तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ ।



















