निजगढ,पछिल्लो समय बढ्ेको सवारी दुर्घटना न्युनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जिल्लाको दक्षिणी भेगमा सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
सवारी साधनको चाप, सडकको कमजोर अवस्था, चालक र पैदल यात्रुको लापरवाही जस्ता कारणले हुने दुर्घटनाका अन्त्य गर्न ट्राफिक प्रहरीले जिल्लाको सीमावर्ति क्षेत्रमा जनचेतनामूलक कार्यक्रम अघि बढाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिपक केसीका अनुसार विशेषगरी जिल्लाको दक्षिणी भेगमा भारतसँग जोडिएको क्षेत्रमा संचालनमा आएका सवारी साधनका चालकहरूमा ट्राफिक नियमसम्बन्धि चेतनाको विकास गराएर दुर्घटना न्यूनीकरण गर्न अभियान संचालन गरिएको हो । उहाँले उक्त क्षेत्रमा मोटरसाइकल चालकहरूले हेल्मेट प्रयोग, सवारी कागजात तथा लेन अनुशासन तथा पैदल यात्रीमैत्री व्यवहारसम्बन्धि जानकारी गराउन लागिएको हो । ‘विशेष गरी दक्षिणी भेगका सवारी चालकहरुमा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति व्यापक छ, निरीक्षक केसीले भन्नुभयो, यसको न्यूनीकरणको लागि ट्राफिक प्रहरीले सीमावर्ती क्षेत्रलाई लक्षित गरी हेल्मेट अनिवार्य, सडक सुरक्षा, लेन अनुशासन तथा पैदल यात्रीमैत्री व्यवहारसम्बन्धी सचेतना अभियान तीव्र पारिएको छ ।’

सीमावर्ती क्षेत्रमा संचालन भइरहेको विशेष अभियान अन्तर्गत भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनहरूलाई लक्षित गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ । अभियानकै क्रममा हेल्मेट बिना मोटरसाइकल चलाउने भारतीय नम्बर प्लेटका करिब दुई दर्जन चालकलाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई ट्राफिक नियमबारे जानकारीसहित जरिवाना तिराएर छोडिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी पैदल यात्रुहरूलाई लक्षित गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाइएको छ । जिल्लाको दक्षिणी भेगको सिम्रौनगढमा हालै सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह, सामुदायिक प्रहरी साझेदारीका प्रतिनिधि, स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।खुल्ला सीमाका कारण दक्षिणी भेगमा दुर्घटना न्यूनीकरण कार्य थप चुनौतीपूर्ण बन्दै गएको र सर्वसाधारणको ज्यान जोगाउने कार्यमा प्रहरीसंगै सरोकारवाला निकाय तथा नागरिक समाजको सहभागिता पनि आवश्यक भएको उहाँले बताउनुभयो ।
‘सडक व्यवस्थापन र दुर्घटना नियन्त्रण ट्राफिक प्रहरीको मात्रै जिम्मेवारी हो’ भन्ने सोच कायम रहेकाले अभियानले अपेक्षित परिणाम दिन ढिलाइ भइरहेको पनि उहाँले बताउनुभयो ।
ट्राफिक प्रमुख केसीका अनुसार चालकको लापरवाही, तीव्र गति, मादक पदार्थ सेवन र सडकको भौतिक अवस्था दुर्घटनाको प्रमुख कारणका रूपमा रहेका छन । उहाँले दक्षिणी भेगका कतिपय स्थानमा साँघुरा सडक, सडकको बिच भागमा बनेका खाल्डाखुल्डी, सडक पेटीको अभाव र सडक किनारमै घरपालुवा चौपाय बाँध्ने वा खुला छाड्ने गरिएकाले पनि दुर्घटना बढेको बताउनुभयो ।

त्यसैगरी पैदल यात्रुहरूमा देखिएको ट्राफिक नियमप्रति सचेतनाको अभावले मादक पदार्थ सेवन गरेर हिड्ने र जथाभावी सडक पार गर्ने जस्ता गतिविधिले पनि दुर्घटना जोखिम थप बढाएको उहाँको भनाई छ ।
‘यसले गर्दा सवारी चालकलाई आकस्मिक रूपमा अवरोधको सामना गर्नुपर्ने र दुर्घटना निम्तिने गरेको छ ।’ उहाँले भन्नुभयो ।निरीक्षक केसीका अनुसार मापसेसंगै लापसे चेकजाँचतर्फ पनि ट्राफिकले ध्यान केन्द्रित गरेको छ । यसका लागि विशेष परीक्षण, सप्राइज चेकिङ जस्ता गतिविधि सञ्चालन गरिरहेको उहाँले बताउनुभएको छ ।
यसैबीच, ट्राफिक प्रहरीले ई–रिक्सा सञ्चालनमा समेत कडाइ गरेको छ । ई–रिक्सा चालकहरूलाई अनिवार्य रूपमा चालक अनुमति पत्र (लाइसेन्स) लिन र सम्बन्धित पालिकामा दर्ता गर्न तथा तोकिएको भित्री सडकखण्डमै मात्र सवारी सञ्चालन गर्न निर्देशन दिइएको छ ।अनियमित रूपमा सञ्चालन हुने ई–रिक्साले पनि दुर्घटनाको जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले यसको व्यवस्थापनमा ध्यान दिएको हो ।

Leave a Reply