कलैया,जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षे घटना र प्रगति विवरण सार्वजनिक गरेको छ। विवरणमा विभिन्न मुद्दा, राजस्व संकलन, लागू औषध, आत्महत्या, उजुरी तथा फरार प्रतिवादी सम्बन्धी तथ्यांकहरु प्रस्तुत गरिएको छ।

प्रहरीको रिपोर्ट अनुसार महिला सम्बन्धि उजुरीको संख्या घटेको छ भने आत्महत्याको घटनामा वृद्धि देखिएको छ।
आर्थिक वर्ष २०८०÷०८१ मा ६८ महिला, ६४ पुरुष, ७ बालक र २४ बालिकाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७८÷०७९ मा ४६ महिला, ४९ पुरुष, ८ बालक र ३६ बालिकाले आत्महत्या गरेका छन्। आगामी वर्षमा महिला ४७, पुरुष ४६, बालक ८ र २० बालिकाले आत्महत्या गरेका प्रहरीको रिपोर्टमा उल्लेख छ।

महिला सम्बन्धि उजुरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा २,२१३ उजुरी मध्ये १,४५० मिलापत्र भएका छन् भने २०७९-०८० मा २,१४४ उजुरी मध्ये १,६६६ मिलापत्र भएका छन्। आर्थिक वर्ष २०८०-०८१ मा १,९३६ उजुरी मध्ये १,७५० उजुरी मिलापत्र भएको तथ्यांक छ।आर्थिक वर्ष २०८०-०८१ मा २,०५४ किलो गाँजा, ४५ किलो २३ ग्राम चरेस, र ५६९.६४ ग्राम ब्राउन सुगर बरामद भएको छ।राजस्व संकलनको हिसाबले, आर्थिक वर्ष २०७८÷०७९ मा दुई करोड त्रिचालिस लाख उन्नब्बे हजार, २०७९÷०८० मा बाह्र करोड एक्कसठी लाख, र २०८०-०८१ मा सन्ताउन करोड चालिस लाख पैतीस हजार संकलन गरिएको छ।
यसैगरी जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा अदालतबाट कैद जरिवाना तोकिएका ३१९ जना फरार प्रतिवादी पक्राउ परेको जनाएको छ। यी प्रतिवादीबाट ७९ वर्ष ३ महिना ३ दिन कैद र १ करोड ५४ लाख ५६ हजार २८८ रुपैया जरिवाना संकलन गरिएको छ। सन् २०८०-०८१ मा १,३२२ मुद्दा दर्ता भएको र १,०३१ मानिस पक्राउ परेको विवरणमा उल्लेख छ। यसै अवधिमा ९२ वटा लागूऔषध मुद्दा दर्ता भएका छन् र १३७ मानिस पक्राउ परेको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रहरीले ७ वटा हतियार र २० राउण्ड गोली बरामद गरेको छ भने ९६ वटा हराएका मोबाईलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ। प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसारसो अवधिमा अबैध आर्थिक कारोबार (हुण्डी) सम्बन्धी ४ मुद्दा दर्ता गरि ८ जनालाई पक्राउ गरी ३८ लाख ९ हजार रुपैया बरामद गरिएको छ।
सवारी साधन ट्राफिक कारबाही अन्तर्गत ३४,२८५ सवारीलाई कारबाही गरी २ करोड ९७ लाख ३१ हजार ५ सय रुपैया राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply