निजगढ,पशुमा लाग्ने लम्फी स्किन रोगको सङ्क्रमण नियन्त्रणको लागि निजगढ नगरपालिकाले खोप कार्यक्रम संचालन गर्ने भएको छ ।नगरपालिकाका संक्रमण नियन्त्रणको लागि ५० प्रतिशत अनुदानमा किसानलाई खोप उपलब्ध गराउन लागेको हो । निजगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाले हाल लम्फी स्किन रोगको सङ्क्रमण देखापरेको वडा नम्बर ९ र ११ का किसानहरुलाई जेष्ठ ११ गतेदेखि अनुदानको खोप उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । उहाँले अन्य वडामा पनि किसानको आवेदन संकलन गरेर ७ दिनपछि खोप वितरण गरिने उहाँले जानकारी दिनुभयो ।नगरपालिका पशुसेवा शाखा प्रमुख युगलकिशोर सिंहले नगरपालिकाले हाल २ हजार ५ सय डोज खोप खरिद गरेको र आवश्यकता र माग अनुसार थप खोप खरिद गरेर वितरण गरिने जानकारी दिनुभयो ।निजगढमा रोगको संक्रमण देखापरेपछि नगरकार्यपालिकाको यही जेष्ठ ६ गतेको बैठकले ५० प्रतिशत अनुदानमा खोप कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।३ साताअघि रतनपुरीमा देखापरेको रोग अहिले निजगढको ठाडोलाईनमा पनि देखिएको पशुसेवा शाखा प्रमुख सिंहले बताउनुभयो । रतनपुरी आसपासको क्षेत्रमा संक्रमण हुने क्रम वृद्धि भएको र उक्त स्थानमा अहिलेसम्म १८ वटा गाईमा संक्रमण फेला परेको उहाँले जानकारी दिनुभयो ।घातक प्रकृतिको मानिने यो रोग लागेपछि पशुको शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने जस्ता लक्षण देखापर्ने गरेको छ । सरुवा रोग भएकोले नियन्त्रणको लागि आफ्ना पशुहरुलाई घरबाहिर चरिचरणमा नलैजान पनि सिंहले किसानहरुलाई सल्लाह दिनुभएको छ । हावा, झिङ्गा, लामखुट्टे किर्ना र अन्य किराहरुबाट समेत स्वस्थ पशुमा रोग सर्ने उहाँले बताउनुभएको छ ।

Leave a Reply