वीरगन्ज,वीरगन्ज महानगरपालिकाले सार्वजनिक, ऐलानी र पर्ती जग्गा खोजतलाश अभियानलाई जारी राखेको छ ।अहिलेसम्म महानगरपालिका भित्रका विभिन्न वडा अन्तरगत ५० बिघा ऐलानी र पर्ती जग्गा यकिन गरिएको महानगरले जनाएको छ । यकिन गरिएको ५० बिघा मध्ये ३५ बिघा जग्गामा तारबार लगाएर संरक्षण गर्ने काम शुरु गरिएको समितिका संयोजक एंव वडा नंं ५ का वडा अध्यक्ष प्रदिप चौरसीयाले बताउनुभयो ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज महानगरपालिका वडा नंं ४ स्थित माइराम पोखरीको नाउँमा रहेको ४ बिघा १८ कठ्ठा मध्ये २ विघा जमिनमा भएको अतिक्रमण हटाइएको बताउनुभयो ।उहाँले माइराम पोखरीको जग्गा अतिक्रमण गरी बनाइएका केही संरचना महनगरले डोजर लगाएर हटाइएको र केही संरचना हटाउन महानगरपालिकाले जग्गा अतिक्रमण गरी बसोबास गरेका व्यक्तिहरुको नाउँमा सूचना जारी गरेको बताउनुभयो ।केही व्यक्तिहरुले आफूले बनाएको संरचना आफैले हटाउने भनेकोले समय दिएको मेयर राजेशमान सिंहले बताउनुभयो । तोकिएको समय भित्रमा उनीहरुले अतिक्रमित संरचना नहटाएमा महानगपालिकाले आफै हटाउने मेयर सिंहको भनाइ छ ।वीरगन्जको गितामन्दीरको नाउँमा रहेको जग्गामा भएको अतिक्रमण हटाएर उक्त स्थानमा तरकारी तथा फलफूल बजार राखिएको समितिका संयोजक प्रदीप चौरसीयाले बताउनुभयो ।वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका सार्वजनिक, ऐलानी, पर्ती र महानगरपालिकाको नाउँमा रहेको जग्गामा अतिक्रमण गरे बनाइएका संरचना हटाउन र उक्त जग्गा यकिन गरि वीरगन्ज महानगरपालिकाले संरक्षण गर्ने उेश्यले वीरगन्ज ५ का वडा अध्यक्ष प्रदीप चौरसीयाको संयोजकत्वमा भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समिति गठन गरेको छ ।उक्त समितिले वीरगन्जका विभिन्न वडामा भएका सार्वजनिक, पर्ती र ऐलानी जग्गा अतिक्रमण हटाउन र महानगर क्षेत्रभित्र ती जग्गाको पहिचान गर्न काम शुरु गरेको छ । वीरगन्ज महानगर वडा नंं १७ अलौमा रामजानकी मन्दिरको पश्चिम तर्फ कित्ता नंं १२७ को २ कठ्ठा १५ घुरको पोखरी फोहोर रहेकोले सफा गरी यकिन गर्नुपर्ने अवस्थामा देखिएको छ ।वीरगन्जको अलौमा रहेका अधिकांश पोखरीको संरक्षण हुन नसकेको र ती सवै पोखरीभित्र रहेको जलकुम्भी हटाएर नाप जाँच गर्नुपर्ने अवस्थामा देखिएको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदीप चौरसीयाले बताउनुभयो ।वीरगन्ज १८ को भवानीपुरमा रहेको वडा कार्यालय र त्यस आसपासको पोखरी समेत गरी १ बिघा १३ कठ्ठा जमिन यकिन गरिएको संयोजक चौरसीयाले बताउनुभयो । भवानीपुरमा पुरानो स्वास्थ्य चौकी नजिक रहेको पोखरीको क्षेत्रफल यकिन गरिएको उहाँले जानकारी दिनुभयो ।त्यसैगरी वडा नंं १९ स्थित वर्वागोगमा रहेको १ बिघा १३ कठ्ठाको पोखरी, वडा नंं २० को हरपतगंजमा रहेको ४ कठ्ठा जग्गा स्थानीय कृपानारायण यादवले अतिक्रमण गरेको देखिएको संयोजक चौरसीयाको भनाइ छ । हरपतगंजमा भएको पोखरी भने मन्दिरले प्रयोग गर्दै आएको छ ।महानगरपालिका वडा नंं २३ स्थित प्रसौनी विर्तामा कित्ता नम्वर ८६ को २ बिघा १५ घुर जग्गा भूवनेश्वर महादेव मन्दिरले प्रयोग गरेको र त्यसको सौन्दर्यकरणको काम भइरहेको वीरगन्ज महानगरपालिका वडा नंं २६ का वडा अध्यक्ष शम्भु मिश्रले बताउनुभयो ।वडा नं. २४ को रामगढवामा १ कठ्ठा ५ घुरमा रहेको पोखरी पुरिएको अवस्थामा रहेको र सोही वडाको बहुवरी टोल नजिक रहेको १३ कठ्ठा १२ घुरको पोखरी समेत फोहोर रहेकोले सफा गर्नुपर्ने अवस्थामा रहेको महानगरपालिकाले जनाएको छ ।वीरगन्ज महानगरपालिकाको वडा नं. १७ देखि वडा नंं ३० सम्म रहेको सार्वजनिक, पर्ती, ऐलानी र महानगरपालिकाको नाउँमा रहेका जग्गाको यकिन गर्ने काम सकिएको जग्गा खोजबिन कार्यमा संलग्न वीरगन्ज महानगरका नगर प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हरी भूषालले बताउनुभयो ।महानगरपालिकाको सुगौली विर्ता स्थित वडा नं. २६ मा १ बिघा १८ कठ्ठा १८ धुर, वडा नं. २८ को बगहीमा १२ कठ्ठा, वडा नं. २९ मा १७ कठ्ठा जग्गा यकिन गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।महानगरभित्र रहको सार्वजनिक, ऐलानी र पर्ती जग्गामा अधिकांश पोखरी रहेको टोलीले जनाएको छ । केही जग्गामा मन्दिर, विद्यालयले समेत प्रयोग गरेको र केही जग्गामा व्यक्तिले समेत अतिक्रमण गरेको अवस्था देखिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।वीरगन्ज महानगरपालिका मेयर सिंहले महानगरपालिकाभित्र रहेको सार्वजनिक, पर्ती, ऐलानी जग्गा खोजतलाश गर्न वडा अध्यक्ष चौरसीयाको संयोजकत्वमा विशेषज्ञ रहेको समिति गठन गरेर जग्गा खोजविनको काम भइरहेको बताउनुभयो । उहाँले अभियानलाई तीव्र बनाउने र महानगरपालिकाभित्र रहेका अतिक्रमित सार्वजनिक सम्पतिको संरक्षण गर्ने बताउनुभयो ।उहाँले सार्वजनिक सम्पतीमा व्यक्तिले बनाएका संरचना हटाउन सूचना जारी गरिएको र सूचनाको अवज्ञा गरेमा महानगरपालिकाले आफै डोजर चलाएर हटाउने चेतावनी दिनुभयो । यस आर्थिक वर्षमा महानगरपालिका भित्रका सवै सार्वजनिक, पर्ती र ऐलानी जग्गको यकिन गर्ने र अर्को वषैदेखि त्यसको संरक्षणका लागि तारबार लगाउने अभियान थालनी गरिने मेयर सिंहले जानकारी दिनुभयो ।

Leave a Reply