सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुनः चेतकुमार पोखरेल आउनुहुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्दै उहाँको स्थानमा पोखरेललाई पठाउने निर्णय गरेको हो ।

गत बैशाख महिनामा जीतपुरसिमरा आउनुभएकी काफलेलाई मन्त्रालयले अतिरिक्त समूहमा सरुवा गरेको छ । काफ्लेको स्थानमा मन्त्रालयले यसअघि अढाई वर्ष उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेर अनुभव बटुलेका पोखरेललाई पठाउन लागेको हो ।पोखरेलको सरुवा भएपछि उपमहानगरपालिकामा आएका कुनै पनि प्रमुख प्रशासकीय अधिृकत लामो समयसम्म टिक्न सकेका छैनन् । उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्दा नगरपालिकाको कामकाज प्रभावित हुँदै आएको थियो ।

जीतपुरसिमरामा पछिल्लो एक वर्षमा मात्रै चार जनाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाइसकेका छन् । २०८० साउनमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको सरुवा भएपछि बेदराज फुयाँलले जिम्मेवारी पाउनुभएको थियो । फुयाँल पनि छोटो समयमै सरुवा गरेर गएपछि नगरको कामकाज चलाउन शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादलाई मन्त्रालयले जिम्मेवारी दिएको थियो । मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शिवजी प्रसादले काम गरिरहेकै बेला गत बैशाख २८ गते काफ्ले प्रमुख प्रशासकीय अधिकृतको रुपमा जीतपुरसिमरा आउनुभएको थियो ।

Leave a Reply