वीरगञ्ज,हिन्दु धर्मावलम्बीहरूको महान् पर्व फागु पूर्णिमा (होली) नजिकिँदै गर्दा पर्सा प्रहरीले सर्वसाधारणलाई मर्यादित र सुरक्षित तरिकाले पर्व मनाउन अनुरोध गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले होलीको अवसरमा एउटा सूचनामार्फत शुभकामना व्यक्त गर्दै शान्ति र सद्भाव कायम राख्न सबैमा अपिल गरेको हो । प्रहरीले जारी गरेको सूचना होली खेल्दा आत्मीय जनहरूसँग मात्र खेल्न, अपरिचित व्यक्तिहरूको समूहमा संलग्न नहुन र उच्छृङ्खल गतिविधि नगर्न भनिएको गरिएको छ । त्यस्तै कसैको इच्छा विपरीत रङ्ग, लोला, मोबिल, फोहोर पानी वा केमिकल प्रयोग नगर्न र छाला तथा आँखामा असर गर्ने रङ्गबाट बच्न पनि प्रहरीले सचेत गराएको छ ।
यसैगरी महँगा गहना लगाएर होली नखेल्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, ट्राफिक नियमको पालना गर्न र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन प्रहरीको अनुरोध छ । अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि कुनै दुव्र्यवहार नगर्न, रेलिङ नभएको छत वा सडकमा होली नखेल्न र धार्मिक वा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधिबाट टाढा रहन पनि प्रहरीको आह्वान छ ।
भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट जस्ता घटना हुन सक्ने भन्दै सावधानी अपनाउन र कुनै आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन पनि पर्सा प्रहरीले आग्रह गरेको छ । सूचनाको लागि पर्सा प्रहरीले नियन्त्रण कक्षको नम्बर १००, ९८५५०९०१३६, ९८५५०२८२८५ र ९८५५०२८२८७ नम्बर पनि उपलब्ध गराएको छ ।
नियम विपरीत कार्य गर्ने व्यक्तिमाथि कानुनअनुसार सजाय र जरिवाना हुने पनि पर्सा प्रहरीले चेतावनी दिएको छ । “होलीको रङ्ग, हर्ष र उल्लाससँगै सुरक्षित र मर्यादित तरिकाले पर्व मनाउन सबैमा हाम्रो अनुरोध छ,” जिल्ला प्रहरी कार्यालय पर्साले भनेको छ ।


















