निजगढ,बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले यसअघि निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्न नसकेकोले विकासको दृष्टिले २ नम्बर क्षेत्र निक्कै पडाडि परेको बताउनुभएको छ ।नेकपा एमालेले शनिवार करैयामाई गाउँपालिकको मधुवनमा आयोजना गरेको चुनावी सभामा बोल्दै उम्मेदवार पौडेले सो कुरा बताउनुभएको हो । उहाँले आफू विजयी भएको खण्डमा क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिँचाई, खानेपानी, सडक निर्माणको काम गर्ने बताउनुभयो । ‘म धेरै काम गर्छु भनेर आश्वास दिन चाहन्न, उहाँले भन्नुभयो, मलाई विजयी गराउनुभयो भने तियर, थलही, जमुनी र पसाह नदीमा पक्की सिँचाई आयोजना संचालनको लागि पहल गर्ने छु ।’ सभामा बोल्दै उहाँले क्षेत्रमा रहेका विद्यालयमा शिक्षाको गुणस्तर नाजुक भएको र सुविधा सम्पन्न अस्पतालको अभावमा जनताले बेलैमा राम्रो उपचार पाउन सकेको पनि बताउनुभयो । ‘बालबालिकाको लागि गुणस्तरीय शिक्षा र सुविधा सम्पन्न अस्पताल मेरो प्राथमिकतामा हुने छ ।’त्यसैगरी उहाँले अझै पनि गाउँमा धेरै सडकहरुमा कालोपत्र गर्न जरुरी रहेको पनि बताउनुभयो । ‘सडकमा हिड्दा मुख छोपेर हिडनुपर्ने अवस्था छ, एमाले उम्मेदवार पौडेलले भन्नुभयो, हामी गाउँका सबै सडकलाई धुलोरहित बनाउने छौ ।’बिगतमा मौका पाउदा जनताको पक्षमा कुनै काम गर्न नसक्नेहरु फरि पनि उम्मेदवार बनेर आएको भन्दै उहाँले जनताले सचेत भएर मतदान गर्नुपर्ने पनि बताउनुभयो । ‘मोरङ्ग, सुनसरी र सप्तरीमा केही काम गर्न नसकेपछि निर्वाचनमा हारेका मान्छे अहिले फेरि उम्मेदवार बनेका छन, एमाले उम्मेदवार पौडेलले भन्नुभयो, आफ्नो जिल्लाको लागि केही गर्न नसकेकाहरुले बाराको विकासको लागि काम गर्छन भनेर कल्पना पनि नगर्नुहोस ।’ उहाँले जनता समाजवादी पार्टीबाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका उपेन्द्र यादवले सप्तरीबाट चुनाव जितेर गएपछि जनताको पक्षमा काम गरेको भए शायद चुनावमा लज्जास्पद पराजय बेहोर्नु पर्ने अवस्था आउने थिएन भन्नुभयो । ‘केही काम गर्न नसकेपछि जनताले हराएका हुन, उहाँले भन्नुभयो, त्यस्ता व्यक्तिबाट बाराका जनताको पक्षमा कुनै काम होला भनेर आशा गर्नु समयको बर्वाद मात्रै हो ।’उहाँले अघिल्ला २ वटा आमनिर्वाचनमा पार्टीले उम्मेदवारी नदिएको भएपनि यसपटक एमाले चुनाव जित्ने गरी निर्वाचनमा उत्रिएको बताउनुभयो । बिगतमा सोहन चौधरीले जितेको यो क्षेत्र एमालेको बलियो किल्ला भएको उहाँको भनाइ छ । ‘यो क्षेत्रमा एमालेको जनाधार बलियो छ, उहाँले भन्नुभयो, यसपटक जनताले एमालेलाई जिताएरै छोडनेछन ।’ उहाँले मजदुर, किसान, दलित र विपन्न समुदायको बसोबास रहेको यो क्षेत्रमा एमाले पार्टी सबैभन्दा लोकप्रिय रहेको पनि बताउनुभयो ।उम्मेदवार पौडेलले साना र क्षेत्रीय पार्टीहरुले एमालेलाई हराउन नसक्ने पनि बताउनुभयो । क्षेत्रीय पार्टीहरुले सम्पूर्ण देश र जनतालाई सोचेर काम गर्न नसक्ने र एमालेलाई हराउन पनि सक्दैनन भन्नुभयो । ‘नेपाली कांग्रेश जस्तो पार्टी त एमालेसंग एक्लै चुनाब लडन डराएको छ, उहाँले भन्नुभयो, जसपा र जनमत जस्ता साना र क्षेत्रीय पार्टीका उम्मेदवारहरुले एमालेलाई हाराउन सक्दैनन ।’ उहाँले आफ्नो जित निश्चित भएकोले उत्साहका साथ चुनाव प्रचारमा लाग्न र एमालेको पक्षमा मतदान गर्न मतदातामा आग्रह गर्नुभयो ।कार्यक्रमका बोल्दै प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले पटकपटक सांसद र मन्त्री बनेर पनि केही काम गर्न नसक्ने र जनताले पराजित गरेपछि भागेर क्षेत्र परिवर्तन गर्दै हिडने मान्छेलाई मतदान गर्न नहुने बताउनुभयो । नेता पण्डितले बारा क्षेत्र नम्बर २ का मतदाताले पनि त्यस्ता उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी तुल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवंम बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वाला साह, अर्का पोलिटब्युरो सदस्य एवंम बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, केन्द्रीय कमिटी सदस्य बलवीर चौधरी लगायतका नेताहरुले बोल्नुभएको थियो ।स्थानीय एमाले नेता रामाधार चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन नेकपा एमाले करैयामाई गाउँ कमिटीका अध्यक्ष धिरेन्द्र चौधरीले गर्नुभएको थियो ।

Leave a Reply