अनिल तिवारी,
सिमरा, १० भदौँ– जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २३ भलुहीमा निर्माण भएको ३० बेडको आइसोलेशन सेन्टर संचालनमा आएको छ । पछिल्लोसमय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै नगरपालिकाले वडामा ३० बेडको आइसोलेशन निर्माण गरेको हो ।
वडाभित्रका बढेका संक्रमितको उपचार र व्यवस्थापन गर्न वडा कार्यालयले आफ्नै क्षेत्रभित्र ३० बेडको आइसोलेशन सेन्टर निर्माण गरहेको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो । पछिलोपटक वडा नम्बर २३ मा एकै दिन ५ जना र त्यसभन्दा पहिलो ४ जना संक्रमित भएको पाइएको थियो ।
वडामा रहेका ९ जना संक्रमितहरु मध्ये दुई जना कलैया आइसोलेशनमा, दुई जना म्यागनेश फर्मामा, तथा बाँकी ५ जना होम आइसोलेशनमा रहेको देवानले जानकारी दिनुभयो ।
उहाँले होम आइसोलेशनमा रहेकाहरुलाई सुबिधाको आधारमा दुई दिनभित्र वडाको आइसोलेशनमा स्थानान्तरण गर्ने गरी काम अगाडि बढाएको समेत जानकारी दिनुभएको छ । यस सेन्टरमा स्थानीय डाक्टर डा. ईल्ताफ अंसारी, डा. एमामुल अंसारीले स्वयमसेवकको रुपमा सेवा दिने उहाँले जानकारी दिनुभयो ।
कलैयामा रहेको आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुको ब्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राख्दै आफ्नो वडालाई सकेसम्म स्तरीय बनाउने प्रयास गरेको वडा अध्यक्ष देवानको भनाइ छ ।
उहाँले घर नजिकै भएको खण्डमा पारिवारिक सहयोगसमेत प्राप्त हुने र आत्मबल बलियो हुने भएपछि रोगसंग लड्ने क्षमताको विकास हुने भएकोले आईसोलेशनको निर्माण गरेको बताउनुभयो ।