वीरगञ्ज,प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आइतवार वीरगञ्जमा सम्पन्न भएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरको घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महावीरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो ।यस रथयात्रामा सयौँको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्राका लागि बनाइएको समितिका अध्यक्ष श्याम पोखरेलले गाउँगाउँबाट भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको जानकारी दिनुभयो ।
वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले यो रथयात्राले वीरगञ्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।भक्तजनहरुको व्यापक सहभागिता सुनिश्चित गर्न आज वीरगञ्ज महानगर अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सबै शैक्षिक संस्थानहरु बन्द गर्न अनुरोधसहित सूचना जारी गरेको थियो ।आइतवार र सोमवार वीरगञ्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु सेवन तथा बिक्रि वितरणमा पनि रोक लगाइएको छ ।


















