वीरगञ्ज,जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली ईलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट हुँदै आइरहेको सेवाप्रवाह पुनः ईलाका प्रशासन कार्यालय सुपौलीबाट प्रवाह गर्ने जानकारी दिनुभयो ।
‘ईलाका प्रशासन कार्यालय सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएको र यसअघि ईलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको सेवा पनि भदौ २३ गतेदेखि पुन सञ्चालन हुनेछ ।’ उहाँले भन्नुभयो ।रु एक करोड पाँच लाख ९९ हजार लागतमा ईलाका प्रशासन कार्यालयको भवन निर्माण गरिएको छ ।यसअघि विसं २०७५ पुस ११ गतेदेखि सरकारले सुपौलीबाट सेवाप्रवाह गर्दै आएकोमा विभिन्न कारणले केही समय सेवा स्थगित भएको थियो । ईलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने बताइएको छ ।


















