राजन कुमार बानीया

पोखरिया,पर्साको पकहामैनपुर गाउँपालिकाको नयाँ भवनको शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद हरिनारायण रौनियारले धार्मिक विधिअनुसार पूजापाठ गरि गाउँपालिका कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रमा बोल्दै सांसद रौनियार संघीयता आएको चार वर्षमा विगत ५० वर्षमा नभएको विकास भएको बताउनुभयो । ‘पहिलेपहिले गाउँबाट सदरमुकाम वीरगन्ज जान बाटोघाटोको समस्या थियो, उहाँले भन्नुभयो, अहिले ४ वर्षमा जिल्लाको जुनसुकै कुनाबाट पनि सवारी साधनको प्रयोग गरेर वीरगन्ज पुग्न सकिन्छ ।’ उहाँले सडकसंगै स्वास्थ्य, शिक्षा, कृषिलगायत भौतिक पूर्वधार विकासको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विजय चौरसियाले दुर्गम भनिएका गाउँमा पनि सडक, नाला, विद्युत, संचार, कृषि, शिक्षा, स्वास्थ्य र सिँचाइलगायतको क्षेत्रमा विकास भएको बताउनुभयो । अध्यक्ष चौरसियाले गाउँपालिकाले अब किसानको खेतमा विद्युत पोल गाडेर किसानलाई १ सय रुपैयाँमा सिँचाइको सुविधा उपलब्ध गराउने बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षमा पकहामैनपुर गाउँपालिकाबाट सस्तो भाडा दरको बस सेवा संचालन गरि सर्वसाधारणलाई २५ रुपैयामा वीरगन्ज पुर्याउने कार्यक्रम बनाइएको पनि जानकारी दिनुभयो । बस संचालनले जेष्ठ नागरिक र विद्यार्थीहरुलाई छुटमा सेवा उपलब्ध गराउने पनि बताउनुभयो ।

अघिल्ला ४ वर्षमा गाउँपालिकाभित्र ७० प्रतिशत विकास निर्माणको काम सम्पन्न गरेको अध्यक्ष चौरसियाले दाबी गर्नुभएको छ । गाउँपालिका भवन निर्माणको लागि गाउँपालिकाले ७५ लाख विनियोजन गरेको जानकारी दिदै अध्यक्ष चौरसियाले उपभोक्ता समितिमार्फत चालु आर्थिक वर्षभित्र नै भवन निर्माण सम्पन्न गर्ने जानकारी पनि उहाँले दिनुयभो । भवन निर्माणपछि कार्यालयबाट प्रवाहा हुने सेवा प्रभावकारी हुने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष चौरसियाको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा प्रदेश नम्बर २ का सभासद मंजुर आलम, बिन्दबासनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल, जसपा नेपालका प्रदेश सदस्य गौरीशंकर साह दादा, जसपा क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here