बिदुर खडका
डुमरवाना,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको डुमरवाना क्षेत्रका किसानले लगाएको असारे बिजी ४२ धानको मूल्य नपाउँदा किसानहरु निराश भएका छन् ।सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५८० रुपैयाँ ६२ पैसा तोकेको भएपनि यस क्षेत्रका किसानले लगाएको धानको भने बजार मूल्य नपाउँदा किसान निराश भएका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ११, १२, १३, १५, १८ र १९ नम्बर वडाका किसानहरुले लगाएको बीजी– ४२ धानको मूल्य नपाउँदा किसान निराश भएका हुन् । अहिले उनीहरुले लगाएको बीजी– ४२ धानको मूल्य २१÷२२ रुपैंया प्रतिकिलोमा मात्रै बिक्री हुने गरेको छ । किसानले लगाएको असारे बीजी–४२ धान अहिले धमाधम भित्र्याइदै छ । तर, अविरल पर्षाले धान भित्र्याउन पनि समस्या भएको छ । वर्षाले पाकेको धान भित्र्याउन समेत नपाएको किसानको गुनासो छ । भित्र्याउन लागेको धान पनि पानीले भिजेर कुहिएको र दुर्गन्ध आउन थालेको किसानको भनाई छ ।
असारे बीजी–४२ धान भित्र्याएर फेरी अर्को धान रोप्ने तयारीमा किसान रहेका छन् । अहिले किसानले उत्पादन गरेको बीजी– ४२ धानको भने मूल्य भन्दा ढुटोको मूल्य बढी हुँदा दोहोरो मारमा किसान परेका छन् । किसानले दुख गरेर उब्जाएको बालीले उचित मूल्य नपाउँदा र त्यहि धान सस्तोमा बिक्री गरेर महंगोमा धानको ढुटो किन्नुपर्दा किसान दोहोरो मारमा परेका हुन् । दिनप्रति दिन बढ्दै गएको महंगी र किसानले लगाएको धानबालीले उचित मूल्य नपाउँदा किसानहरु निराश बन्ने गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका किसानहरुले वर्षौदेखि यस्तो समस्या भोग्दै आएका हुन ।यसैबीच सरकारले आर्थिक वर्ष २०८१÷०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ ।यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय १२ रुपैयाँ र मध्यम धान दुई सय १७ रुपैयाँले बढी हो ।सरकारले हरेक वर्ष धानको समर्थन मूल्य वृद्धि गर्दै लगेको छ । चालू आर्थिक वर्ष २०८०-८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६३ रुपैयाँ थियो । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here