पुष्पराज खतिवडा

मनहर्वा,सीमा रेखदेखमा खटिएका सुरक्षाकर्मीले नियन्त्रणको लागि चासो नदेखाउँदा नेपाल भारत सीमा क्षेत्रमा पर्ने बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वा नाकाको दशगजा क्षेत्र अतिक्रमण गर्ने क्रम बढेको छ ।

अन्तर्राष्टिय मान्यताअनुसार दशगजा क्षेत्र ‘नो म्यान ल्याण्ड’ हुने र मानवीय गतिविधि गर्न नमिल्ने भएपनि यस क्षेत्रमा किसानले दशगजामा वर्षौदेखि कृषि कार्य गर्दै आएका छन । नेपाल र भारत दुबैतर्फका किसानले दशगजाको खाली जमिनमा धानको पराल र कृषि उत्पादनका अन्य सामान राख्ने गर्दै आएका हुन ।

कानुनअनुसार दशगजामा कुनै किसिमको मानवीय क्रियाकलाप गर्न नपाइने भएपनि किसानहरुले पराल राख्दै आएको सीमा सुरक्षाको लागि खटिएका भारती सीमा रक्षक ए.एस.आई ईन्चार्ज पूर्णचन्द्र ब्रम्हाले बताउनुभयो । उहाँले किसानहरुलाई पराल हटाउन अनुरोध गरिएको पनि बताउनुभयो ।

भारततर्फ भारतीय सीमा रक्षक ए.एस.आई सीमा सुरक्षार्थ भनेर दशगजामै खटिएको छ भने नेपालबाट सीमा रक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी ५ सय मिटर टाढै बसेका छन् । भारतले नेपाल भारत खुल्ला सीमा अन्तर्गत दशगजाको प्रतेक ५ सय मिटरमा दुईदेखि ७ जनासम्म सुरक्षाकर्मी खटाएको बताउने ए.एस.आई ईन्चार्ज ब्रम्हाले आफूहरु पालमुनि बसेर सीमा सुुरक्षामा दिनरात खटिएको बताउनुभयो ।

यता, सशस्त्र प्रहरी १२ नम्बर गण हेडक्वाटर उत्तरझिट्कैंया बाराका नायव उपरीक्षक एंव निमित्त प्रमुख अमर खत्रीले दशगजा क्लियर गर्ने काम सुरु भइसकेकोे बताउनुभएको छ । जिल्लाको पचरौता नगरपालिकाको पिपरपातीबाट दशगजा सरसफाइको काम सुरु गरिएको जानकारी दिदै सिम्रौनगढ क्षेत्रको दशगजामा पनि चाढै सफाइ गरिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply