वीरगञ्ज,वीरगञ्जको आदर्शनगर रंगशालाको अगाडिको सार्वजनिक जग्गाको विवादमा एक दशकपछि सर्वोच्च अदालतले आइतवार वीरगञ्ज महानगरको पक्षमा फैसला गरेको छ ।उक्त सार्वजनिक जग्गा आफ्नो रहेको भन्दै जुगुनु राज्यलक्ष्मी शाहले पर्सा जिल्ला अदालतमा २०६२ साल असार १७ गते मुद्दा दर्ता गरेकी थिइन ।

२०६६ साल बैशाख १० गते बैजनाथ गुप्ताको इजलासले जुगुनु राज्यलक्ष्मी शाहको पक्षमा फैसला गरेको थियो । फेरी तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाले पर्सा जिल्ला अदालतको फैसलाको विरुद्धमा २०६७ साल माघ ३ गते तत्कालिन पुनरावेदन अदालत हेटौँडामा पनरावेदन दर्ता गरिएको थियो । पुनरावेदन अदालत हेटौडाका न्यायधीश पुरुषोत्तम पराजुली र सुष्मालता माथेमाको इजलासले जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो ।पुनरावेदन अदालतको फैसला विरुद्ध वीरगञ्ज महानगरपालिकाले मुद्दा दोहो¥याई पाउन २०६८ साल साउन १० गते निवेदन दिएकोमा २०७१ साल असार २० गते दोहो¥याई हेर्न पाउने निस्सा भएको थियो । तर, सर्वोच्च अदालतले आइतवार महानगरको पक्षमा फैसला सुनाएको हो ।

जिल्ला र पुनरावेदन अदालतको फैसला चित्त नबुझेको भन्दै मुद्दा दोहो¥याएर हेरी पाउँ भनि तत्कालिन वीरगञ्ज उपमहानगरपालिका ९ हाल वीरगञ्ज महानगरपालिकाले २०६८ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।
सर्वोच्चले २०७१ असार २० गते मात्रै मुद्दा दोहो¥याइ हेरी पाउने निस्सा दिएको थियो । त्यसपछि पटक पटक पेसी चढेर विभिन्न आदेश हुँदै आएकोमा आइतवार भने सर्वोच्च अदालतका न्यायाधिशद्वय डा. कुमार चुडाल र कुमार रेग्मीको संयुक्त इजलासले जिल्ला र पुनरावेदन अदालतको फैसला उल्टाउँदै उक्त जग्गा महानगरपालिकाको हुने फैसला दिएको हो । यो सँगै वर्षौदेखि देखिएको उक्त जग्गाको विवाद निरुपण भएको छ ।
सर्वोच्चमा महानगरकोतर्फबाट अधिवक्ता कमलमोहन पोखरेल, प्रमोदप्रसाद, सुरेश पोखरेल, इश्वर बराल र धनबहादुर थापाले बहस गर्नुभएको थियो । जुगुनुको तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका महादेव यादव, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सुधिर कर्णलगायत ८ जनाले बहस गरेका थिए ।

फैसलापछि तत्कालिन छपकैया गाउँ पंचायत वडा नम्बर ७ हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर रंगशाला अगाडिको कित्ता नम्बर ५७ को करोडौ मुल्य पर्ने ३ कट्ठा ९ धुर जग्गा अब महानगरको अधिनमा आएको छ ।
नगर विकास समितिले त्यसबेला अधिग्रहण गरेर लिएको उक्त जग्गा व्यक्ति विशेषले आफ्नो बनाउन लागि परेका थिए । सर्वोच्चको आदेशसँगै सार्वजनिक जग्गा व्यक्तिगत बनाउन खोज्नेहरुको प्रयास विफल भएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभएको छ । उहाँले अतिक्रमित सार्वजनिक जग्गाको खोजी गर्दै खाली गराउने अभियानका साथै विभिन्न समयमा अदालतमा जाहेर भएका जग्गा सम्बन्धी मुद्दाहरुमा समेत प्रमाण संकलन गरेर महानगरले आफ्नो पक्षमा ल्याउने काम गरिरहेको बताउनुभयो ।यसअघि जीपी फाउण्डेसनको नाममा अतिक्रमण गरेर कांग्रेस नेता समेत रहेका महम्मद साहबुद्धिनले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको आदर्शनगरकै १ कट्ठा जग्गासमेत आफ्नो पक्षमा ल्याउन महानगर सफल भएको थियो ।

Leave a Reply