काठमाडौं,नेकपा (एमाले) को १०औं महाधिवेशन मंसिर १०–१३ सम्म बुटवलमा हुने भएको छ । प्रथम विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति र स्थान घोषणा गर्नुभएको छ । विधान महाधिवेशनका प्रतिनिधिहरुले अध्यक्ष ओलीको प्रस्तावमा समर्थन गर्दै पारित समेत गरेका छन् । यसअघि एमालेको ८औं महाधिवेशन पनि बुटवलमै भएको थियो ।
राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनबाट एमालेको पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण भइसकेको छ । आइतबार सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । पदाधिकारीहरूमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव सहित २ सय २५ सस्यीय केन्द्रीय कमिटी हुने विधान पारित भएको छ ।
महाधिवेशनबाट सबै नेताहरू निर्वाचित हुनेछन् । एमालेले उम्मेदवार बन्नका लागि योग्यतासमेत निर्धारण गरेको छ । प्रथम विधान महाधिवेशनले डा. बिजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग समेत गठन गरेको छ । विधान महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान संशोधन प्रस्ताव संशोधन सहित पारित गरेको छ । सम्पन्न महाधिवेशनले ७० वर्षे उमेर हदको पनि थप व्याख्या गरेको छ । विधान महाधिवेशनले कुनै व्यक्ति उम्मेदवार चुनाव जितेपछि ७० वर्ष उमेर कटेको रहेछ भने त्यसले पूर्ण कार्यकाल उक्त पदको जिम्मेवारीमा बसेर काम गर्न पाउने व्याख्या गरेको छ । यस व्यवस्थाले अगामी महाधिवेशनमा अध्यक्ष ओलीलाई पुन अध्यक्षमा उम्मेदवार बन्न र पाँच वर्षे कार्यकाल निर्वाह गर्न सहज भएको छ ।
त्यसैगरी नेकपा एमालेको पदाधिकारी सङ्ख्या १५ सदस्यीय हुने भएको छ । ललितपुरमा चलिरहेको विधान महाधिवेशनमा १० वटा समूहको निष्कर्ष, सुझाव र जिज्ञासाको सम्बोधन गर्दै उपमहासचिव विष्णु पौडेलले पदाधिकारीको सङ्ख्या १५ जना पु¥याइने जानकारी दिनुभयो । एमालेले एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहने प्रावधान ल्याएको छ । यसअघि प्रस्तावित विधानमा उपमहासचिव पद नरहने उल्लेख भए पनि सहभागितको सुझावका आधारमा उपमहासचिव पद यथावत् रहने व्यवस्था गरिएको हो । यस्तै पोलिटब्युरो हटाइएको छ भने स्थायी कमिटीमा ४५ जना र केन्द्रीय समितिमा दुई सय २५ जना सदस्य रहने व्यवस्था गरिएको छ । दस्तावेजहरूमाथि उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि महाधिवेशन आजै सकिनेछ । विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ ।