रौतहट,रौतहटको कटरिया नगरपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ ।
नगरपालिकाका मेयर अजय प्रकाश भ्रष्टाचार आरोपमा निलम्बनमा परेकै बेला अख्तियारको टोलीले कटरिया नगरपालिकामा छापामारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कटहरिया नगरपालिका कार्यालयमा आएर सामाजिक सुरक्षा भत्ता, बाल पोषण, आमा सुरक्षा, न्यानो झोला, पोषण, स्वास्थ्यमा नियुक्ति लगायतको फाईल निययन्त्रणमा लिएर लगेको बताइएको छ ।

यसैबीच पटक–पटक आर्थिक विवादमा पर्दै आएका रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजयप्रकाशले महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयर बनाउन चलखेल सुरू गरेका छन् । मेयर साह, उपमेयर रितादेवी यादवसहित ११ जना भ्रष्टाचार मेद्दामा एकैपटक निलम्बनमा परेपछि अहिले कार्यबाहक मेयर बनाउने चलखेल सुरू भएको छ ।अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर साहले कार्यवाहक मेयर बनाउन चलखेल सुरू गरेका हुन् । केही समर्थक नगर कार्यपालिका सदस्यलाई आफ्नै घरमा बोलाएर उनले एकजना महिला कार्यपालिका सदस्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको निर्णय गराएका थिए ।

घरमै बसेर राति गरिएको उक्त निर्णयपछि मुसहर समुदायकी महिला कार्यपालिका सदस्य शुक्रवार मेयरको कुर्सीमा बस्ने योजना बनाएर कटहरिया नगरपालिकामा पुग्नुभएको थियो । तर, बहुमत नगर कार्यपालिका सदस्यहरूले विरोध गरेपछि उक्त निर्णय नगरपालिकामा दर्ता हुन नसकेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताउनुभएको छ ।
वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र साह, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद, ७ का अध्यक्ष महमद सहिद, ९ का अध्यक्ष रुपेश यादवसहित उपस्थित १४ जना कार्यपालिका सदस्यले शुक्रवार प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको अध्यक्षतामा नगर कार्यपालिका बोर्डको बैठक आह्वान गर्न अनुरोध गरेका थिए ।

वडा अध्यक्षहरूको अनुरोधमा उपसचिव प्रधानले शुक्रबार बेलुकी ६ बजे कार्यपालिका बोर्डको बैठक आह्वान गर्दै पत्राचार समेत गरेका थिए । पत्राचारपछि एकजना वडा ६ का अध्यक्ष जयराम चौधरीबाहेक सबै १४ जना नगरपालिकाको सभाहलमा उपस्थित हुँदा प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान भने बैठकमा अनुपस्थित हुनुभएको थियो ।
मेयर जैसवालको दबावको कारण उपसचिव प्रधान बैठकमा अनुपस्थित भएको वडा अध्यक्षहरूले आरोप लगाएका छन् । बैठकमा कार्यालय प्रमुख नै अनुपस्थित भएपनि अन्यौल भएको भन्दै वडा ४ का अध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाको अवस्थाबारे रौतहटका सिडिओ हिरालाल रेग्मीलाई फोन गरेर जानकारी गराउनुभएको थियो ।
निर्वाचित भएदेखि नै विभिन्न आर्थिक विवादमा पर्दै आएका मेयर जैसवाल निलम्बित भएपछि महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर विकास बजेट अनियमितता गर्ने दाउमा रहेको वडा अध्यक्षहरूको भनाई छ ।
उपसचिव प्रधानले मेयर–उपमेयर निलम्बित भएको अवस्थामा नियमले जे भन्छ त्यही कार्यान्वयन हुने बताउनुभयो । उहाँले कार्यवहाक मनोनयन गर्ने बारेमा कसैको पनि दबाब र प्रभावमा परेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उता मेयर जैसवालले नियम अनुसार कार्यबाहक मेयर बनाउन कार्यपालिकासँग स्वयम् अधिकार रहेको बताउँदै लागेको आरोपको खण्डन गरेका छन् । सिडिओ हिरालाल रेग्मीले कटहरिया नगरपालिकाको हकमा के हुने भन्नेबारे संघीय मामिला मन्त्रालयबाट हालसम्म कुनै निर्देशन नआएको बताउँदै नियमानुसार कार्यबाहक मेयर बनाइनु पर्ने बताउनुभयो ।
कटहरीया नगरपालिकाका मेयर र उपमेयरसमेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोगा अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बित भएका थिए ।

कटहरिया– २ मा जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।मुद्दा दायर भएकामा मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बविता चौधरी र सचिव योगेन्द्र साह छन् ।सो योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय माग दाबी गरिएको छ ।नेपाली कांग्रेस पार्टीबाट निर्वाचित निलम्बित मेयर जैसवाल भ्रष्टाचारमा लिप्त भएपछि सोही पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू खुलेरै बिरोधमा उत्रिएका छन् ।

Leave a Reply