हुनत रेल आजको दिनमा पनि नेपालमा संचालनमा छ तर नेपालको धेरै भूभागमा रेल सेवा छैन । फेरि करिब ४० बर्ष अगाडिको कुरा गर्ने हो भने वीरगन्ज क्षेत्रमा निर्वाध रेल सेवा थियो तर आज त्यसको अवषेश समेत कम छ । अहिले फेरि रेलको कुरा उठेको छ ।वीरगन्जको सीमावर्ती शहर रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य अन्तिम चरणमा पुगेको कुराले नेपालमा रेल संचालनमा आउछ कि भन्ने सपना देख्ने ठाउँ मिलेको छ ।रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर समेत बुझाइसकेको भारतीय कम्पनी कोंकर रेलवे कर्पोरेसन लिमिटेडले बैशाखको १५ गतेभित्र अन्तिम डीपीआर तयार पारिसक्ने बताएपछि एउटा खुसीको संकेत मिलेको हो ।भारतको रक्सौलबाट वीरगन्ज, डुमरवाना कोल्हबी र निजगढ हुदै मकवानपुरबाट सिधै ललितपुर निस्कने गरी रेलमार्गको डिपिआर तयार गरिएको छ । यो भनेको नेपालको धेरै भूभागमा रेल चल्नेछ भन्ने नै हो ।प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ । नेपालले यो परियोजनालाई अनुदानमा बनाइदिन आग्रह गरे पनि भारतले ऋण वा अनुदान भन्ने स्पष्ट पारेको छैन । यस विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र सम्झौताका क्रममा भारतले आर्थिक मोडालिटीका बारेमा स्पष्ट पार्ने सम्भावना छ । भारतले यसैलाई ‘अर्थपूर्ण सम्झौता’ का रूपमा प्राथमिकतामा राखेको छ ।नेपाल र भारतबीच २०७६ भदौ १५ मा रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनकालागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालका प्रधानमन्त्री छिट्टै भारत जांदैछन् कम्तीमा नेपालीको यो सपनासंग प्रधानमन्त्रीको चासो होस् ।

















