नरेश गुप्ता
बरियारपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १५ डुमरवानामा बिहीवार दिउसो आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
दिउसो करिव ३ः०० बजेको समयमा स्थानीय मुक्ति तिमल्सिनाले संचालन गरेको बाख्रा पालन गर्ने खोरमा अचानक करेन्ट सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
आगलागीबाट बाख्रोको गोठसहित दाना, औषधि र अन्य सामग्रीहरु जेलर नष्ट भएको छ ।
आगलागीको सूचना पाएलगत्तै डुमरवाना प्रहरी पोस्टबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोली र स्थानीयबासिन्दाको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।
यसैबीच निजगढ नगरपालिकामा दुई वटा मोटरसाइकल ठोक्किदा एकजना घाइते भएका छन ।
निजगढ नगरपालिका वडा नम्बर १ को पूर्वश्चिम लोकमार्गबाट रौतहटको गुजरा नगरपालिका सिमरी जाने कच्ची सडक नजिक निजगढबाट चपुरतर्फ जादै गरेको ना.१० प. ३५९८ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जादै गरेको ना.२३ प. नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका वडा नम्बर ५ निवासी वर्ष ४१ का महमद हुसेन अंसारी गम्भीर घाइते भएका हुन । उनको खुट्टा र टाउकोमा चोट लागेको छ ।
अर्को मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष १८ का सुजन पुडासैनीको पनि घाइते बनेको तर उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । उनको नाक र निधारमा चोट लागेको छ । दुबै जनाको नेशनल अस्पताल निजगढमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।