निजगढ,निजगढ नगरपालिकासंग सिमा जोडिएको मकवानपुरको बकैया गाउँपालिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलदा स्थानीयको जीवन जोखिममा परेको छ । पछिल्लो २४ घण्टामा बकैया गाउँपालिकाको केन्द्र रहेको हात्तिसुडे नजिकैको जलजलेमा एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने दर्जनौं सर्वसाधारण बिरामी परेका छन ।
स्थानीय एक २३ बर्षीय महिलाको उपचारको क्रममा भरतपुरमा बुधबार अपरान्ह मृत्यु भएको हो । बकैया गाउँपालिका वडा नम्बर– ७ हात्तिखोलाका एक १५ बर्षीय किशोरीको हेटौंडा र चितवनमा उपचार हुन नसकेपछि राजधानीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । दुई घटना बाहेक पालिकाका अन्य गाउँमा पनि कोरोना फैलिएको स्थानीयबासीको भनाइ छ । पालिकामा हाल कतिजना मानिसमा कोरोना संक्रमण छ भने औपचारिक तथ्याङ्क गाउँपालिकासंगै छैन । तर गाउँका ज्वरो आउने, टाउको दुख्ने र बान्ता जस्ता लक्षण देखिएका बिरामीहरुको संख्या धेरै रहेको बताइएको छ ।
हेटौडा अस्पतालका मेसु रामप्रसाद सापकोटाले जिल्लाभरी नै कोभिडका बिरामीहरु बढेको भएपनि बकैया गाउँपालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको विषयमा औपचारिक जानकारी नआएको बताउनुभयो । उहाँले बिरामीहरुमा झाडा बान्ता हुने, टाउको दुख्ने, स्वास प्रश्वासमा समस्या हुने कोभिडकै लक्षण भएको बताउँदै स्थानीय क्लिनिकहरुको मात्रै भर नपरी लक्षण देखिएकाहरुले तत्काल अस्पतालमा पुगेर उपचार गराउन अनुरोध पनि गर्नुभएको छ । पछिल्लो २४ घण्टामा बागमति प्रदेशमा कोरोना संक्रमित ह्वात्तै बढेको छ ।